चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा देखिएको घडियाल भाले गोहीको अभाव हटेको छ । नवलपरासी क्षेत्रमा एउटा भाले गोही जालमा परेर मरेपछि तीन वर्ष अघि बबई नदीबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो । त्यतिबेला दुवै नदीमा भाले गोही नभएपछि बर्दियाबाट ल्याइएको हो ।
निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत साता गरिएको सर्वेक्षणका क्रममा तीन भाले गोही देखिएका छन् । गत वर्ष देखिएका दुई भाले गोही अनुगमनका क्रममा बाहिर नदेखिएका भए पनि ती गोही पनि यिनै नदीमा भएको अनुमान गरिएको छ । खड्काले सन् २०१७ को डिसेम्बरमा बबईबाट ल्याइएको भाले गोही भेलौजी क्षेत्रमा भेटिएको जानकारी दिनुभयो ।
हाल देखिएका तीन भाले गोहीमध्ये एउटा सानो र दुई केही ठूला रहेका छन् । ती भालेमध्ये एउटा राप्ती दोभान गोलाघाटमा, राप्तीको दुधौरा र अर्को भेलौजीमा भेटिएको हो । नदीमा कम्तीमा पाँच भाले गोही रहेको अनुमान गरिएको खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राकृतिक वासस्थानका लागि यी भाले गोहीले पर्याप्त हुन्छ ।” यद्यपि त्रिवेणी ब्यारेजबाट भारततर्फ जान सक्ने खतरा भएको उहाँको भनाइ छ । खड्काको टोलीले ११ दिन लगाएर नारायणी, राप्ती र तिनका भंगलाको करिब २०० किलोमिटर क्षेत्रमा सर्वेक्षण गरेको थियो ।
विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ गोही छाडी सकिएको छ । सोमध्ये राप्तिमा मात्र ७८५ गोही छाडीएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ । नदीमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । गोहीको भाले पोथी पहिचान हुन २० वर्ष लाग्ने गर्दछ । प्राकृतिक रुपमा नै भाले कम जन्मिने गर्दछन् । रासस