महिलाहरुले प्रयोग गर्ने गर्भ निरोधक तीन महिने अस्थाई साधन सायना प्रेसको सेवा र स्वीकार्यता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बिहिबार देवचुली नगरपालिकाको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सायना प्रेस सुईका प्रयोगकर्ता महिलाहरुको उपस्थितिमा उक्त सेवाका प्रभावकारिता बिषयमा अन्तरक्रिया गरिएको थियो । नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य कल्याण महाशाखाको अगुवाईमा सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय,गण्डकी प्रदेशको समन्वय एवं बेलायत सरकार/डी.एफ.आई.डी को आर्थिक सहयोग र आईपास नेपालको प्राविधिक सहयोगमा सुरु गरिएको सायना प्रेसको प्रभावकारिता र स्विकार्यताबारे उपस्थित प्रयोगकर्ताले आफ्ना अनुभव प्रस्तुत गरेका थिए । उपस्थित प्रयोगकर्ताबाट प्रतिनिधि १३ जना महिला तथा स्वयंसेविकाहरुले सायना प्रेस प्रयोगको जिज्ञासा र प्रश्नहरु गरेका थिए । उठेका प्रश्नहरु माथी दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर आशिष बाबु अर्याल र सायना प्रेसका रिसर्च तथा प्रोग्राम अफिसर सन्जिव सहनीले प्रष्ट पार्नुभएको थिए । उपस्थित प्रयोगकर्ताले सायना प्रेसको प्रयोगले अन्य अस्थाई साधन भन्दा सहज र दुखाई कम हुने बताएका थिए । केहि प्रयोगकर्ताहरुले भने यसको प्रयोगले अनियमित रजस्वला हुने गरेको धारणा व्यक्त गरेका थिए ।
विश्वका ४० भन्दा बढी राष्ट्रहरुमा सफल प्रयोगमा आइसकेको सायना प्रेस नेपालमा भने नवलपुर र सिन्धुली जिल्लामा यसको स्वीकार्यताका लागी प्रयोगमा ल्याइएको छ । नवलपुरको ४ स्थानीय तहको ७ वटा स्वास्थ्य केन्द्रमा यो अस्थाई साधनको उपलब्धता रहेको छ । देवचुली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली,रजहर स्वास्थ्य केन्द्र,कावासोती नगरपालिकाको पिठौली स्वास्थ्य चौकी,शिवमन्दिर स्वास्थ्य चौकी,अग्यौली स्वास्थ्य चौकी,हुप्सेकोट गाउँपालिकाको देउराली स्वास्थ्य चौकी र विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीवास स्वास्थ्य चौकीमा सायना प्रेसको सेवा उपलब्ध रहेको छ । गत भाद्र ३१ गतेबाट सुरु गरिएको यो अस्थाई साधनको प्रयोग देवचुली नगरपालिकामा मात्रै करिव २ सय ५० भन्दा बढी महिलाले गरिरहेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एवं देवचुली नगरपालिका वडा नं ३ का वडाध्यक्ष गोपालराज शर्मा लम्सालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसालले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले स्वास्थ्य भनेको संबेदनशील बिषय भएको र त्यसमा पनि मातृ शिशु स्वास्थ्य अझै संबेदनशील हुने भएकाले हरेक आमाहरु गर्भ निरोधक औषधी र सुईका बारेमा जानकार हुनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले सायना प्रेस डिपो जस्तै साधन भएको तर यसको प्रयोगले दुखाई कम र साइड इफेक्ट अन्यको तुलनामा कम भएकाले महिलाहरुको प्रमुख रोजाई बन्ने बिश्वास ब्यक्त गर्नुभयो। कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपुरका निमित्त प्रमुख शिवशरण पराजुली,सायना प्रेसका सेवा प्रदायक शान्ता गैह्रे पोखरेल लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको समापन गर्दै दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष गोपालराज शर्मा लम्सालले सायना प्रेसको स्विकार्यता नवलपुर र विशेष गरि देवचुलीमा लागु गरिएकोमा आईपास नेपाललाई धन्यबाद दिँदै अन्य अस्थाई साधनको भन्दा सायना प्रेसको प्रभावकारिता बढी भएकाले यसको निरन्तरताका लागी आग्रह गर्नुभयो। कार्यक्रममा सायना प्रेसका नवलपुरका कार्यक्रम तथा अनुसन्धान अधिकृत राम कुमार शाह,दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर केसी,दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सन्तोष न्यौपाने,जनस्वास्थ्य अधिकृत चित्र बहादुर सुनार,भ्याली रिसर्च ग्रुपका बालचन्द्र देवकोटा,सुनिता ढकाल,सेवा प्रदायक कामना ढकाल सहित करिव ६० जना प्रयोगकर्ता एवं स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।