देवचुली,
गुरु प्रसाद गौतम प्रतिष्ढान देवचुली १ केउरेनीको आयोजनामा उत्प्रेरणा तालिम दलदले सहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ । शनिबार सम्पन्न तालिममा करिब १ सय ५० जनाको सहभागिता रहेको थियो । तालिममा समय, श्रम, सिप र स्रोतको सदुपयोग गरी उत्कृष्ट जीवनयापन कसरी गर्ने भन्ने कुरामा जानकारी गराइएको थियो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै माता मनकामना चिम्नी ईट्टा उद्योगका अध्यक्ष कृष्ण गौतमले मानिसको जिवनमा समय, श्रम, सिप र स्रोतको निकै आवश्यकता भएकाले अबको पाटो भनेको समाजलाई कसरी अगाडि बढाउने भन्ने तर्फ लाग्नुपरेको बताउनुभयो । सुरुवात आफैबाट गरे घर, टोल, नगर र देश परिवर्तन गर्न सकिने बताउदै सिप सिकेर आफुमा आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले यस किसिमका उत्प्रेरणा तालिम नगरपालिकाले मात्र नभई विभिन्न संघसंस्थाहरुको पनि भुमिका रहयो भने भविष्यमा धेरै कार्य गर्न सकिने बताउदै मानिसहरुलाई सिपको माध्यमबाट आर्यआर्जनको लागि तालिम संचालन गरेकोमा गुरु प्रसाद गौतम प्रतिष्ढानलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले तालिम निकै नै उपयोगी रहेको र यस तालिमबाट प्रशिक्षार्थीहरुले आफ्नो टोल, नगर, समाजलाई अगाडि बढाउनको लागि कस्तो किसिमको कार्य गर्न सकिन्छ त्यसको लागि तालिम बाट सिक्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहजकर्ताको रुपमा रहनुभएका कम नेपालका सिओ आशिष खड्काले अनुशासन र लगनशीलता, समयको सदुपयोग, श्रमको उपयोग, आफ्नो ठाँउबाट कसरी क्षमता प्रद्धर्शन गर्ने जस्ता विभिन्न विषयमा तालिम संचालन गर्नुभएको थियो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तानु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता माता मनकामना चिम्नी ईट्टा उद्योगका अध्यक्ष कृष्ण गौतमले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठ रहनुभएको थियो । यस्तै बिशेष अतिथीका रुपमा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी रहनुभएको थियो । कार्यक्रममा देवचुली नगरपालिका भित्रका विभिन्न वडाका वडाध्यक्ष, बालक्लबका बालवालिका, संघसंस्थाका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।