देवचुली,
नवलपुरको देवचुली नगरपालिकालाई विषादी मुक्त बनाउनुपर्ने एक कार्यक्रममा कृषकहरुले बताएका छन् । नेपाल एक कृषि प्रदान देश भनिरहँदा कृषि क्षेत्रमा विषादीको निकै प्रयोग भएकाले गर्दा विषादी मुक्त बनाउनुपर्नेमा देवचुलीका कृषकहरुले बताएका हुन् । देवचुली नगरपालिकामा रहेको कृषि उपज तथा संकलन केन्द्रको आयोजनामा मंगलबार कृषि उपज बजार संकलन केन्द्र तथा कृषि समुहको अवस्था, अपेक्षा र नगरपालिका सँगको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया तथा कृषक समुहको नगरभेलामा सो कुरा कृषकहरुले बताएका थिए ।
कार्यक्रममा देवचुली नगरपालिका भित्र रहेका ६५ कृषक समुहहरुको उपस्थिती रहेको थियो । कृषकहरुले तरकारी खेती, धान, मकै खेतीमा एक सिंगे गैँडा मात्र नभई छोडुवा गाईका बाच्छाले धेरै खेती नष्ट पारेकोले गर्दा सम्बन्धीत निकायले यस तर्फ चासो नदेखाएको गुनासो गरेका थिए ।
यस्तै सबैले आफ्नो घरमा केही न केही उत्पादन गर्न सक्ने हो भने बजारमा आएका विषादी तरकारी किनेर खानु नपर्ने कृषक सीता अधिकारी बताउनुहुन्छ ।
यस्तै उपिस्थत किसानहरुले नगरपालिका, वडा र कृषि क्षेत्रबाट आउने अनुदानलाई व्यवस्थित तरिकाले कृषकहरुलाई विनियोजन गर्ने हो भने कृषकहरुले धेरै सास्ती नपाउने समेत बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले देवचुली नगरपालिका भित्र रहेका विभिन्न किसिमका कृषि समुहहरुलाई सहयोग गर्न नपाएकोमा दुःखेसो व्यक्त गर्दै अबका दिनमा गरिब र असहाय कृषकहरुलाई मात्र कृषि अनुदान प्रदान गर्ने बताउनुभएको थियो ।
यस्तै विशिष्ट अतिथी रहनुभएका देवचुली नगरपालिकाका प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले देवचुलीमा जैविक कृषि योजना सुरु गर्ने, कृषकहरुलाई विभिन्न किसिमका तालिम संचालनमा ल्याउने, तरकारी बजारलाई संचारमाध्यमबाट प्रशारण गर्नुपर्ने, हरेक घरमा अनिवार्य करेसाबारी बनाउनुपर्ने जस्ता कुरालाई जोड दिनुभएको थियो । आफु पनि एक कृषक भएकाले हरेक व्यक्ति कृषि क्षेत्रमा लाग्नुपर्ने भुसालले बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथीका रुपमा रहनुभएका कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका भानु भक्त भट्टराईले एक गाँउ एक उत्पादन गर्न सके देवचुली नगरपालिका कृषि क्षेत्रमा नमुनाको रुपमा फड्को मार्न सक्ने बताउनुभएको थियो । हरेक घरका व्यक्तिले प्राङ्गरिक मल उत्पादन गरि अर्गानिक तरकारी फलाउन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
यस्तै कार्यक्रमको अध्यक्षता रहनुभएका कृषि उपज बजार तथा संकलन केन्द्रका अध्यक्ष हुकुम बहादुर सुवेदीले कार्यक्रमको समापन गर्दै देवचुली नगरपालिका भित्र उत्पादन भएका अर्गानिक तरकारी, दुध, दही, घिउ, विउविजनलाई स्थान दिनको लागि नै कृषि चौतारीको स्थापना गरिएकोबताउनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रवक्ता एवम वडा नं १३ का वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्री, वडा नं १६ का वडा अध्यक्ष केशर बहादुर क्षेत्री, देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थिए ।