नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै छ । भ्रमण वर्षलाई लक्ष्य गरी पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका कार्यले प्राथमिकता पाइरहेका छन् । भ्रमण वर्षलाई लक्ष्य गरी तनहुँका केही स्थानीय तहले पूर्वाधार निर्माण गरिसकेका छन् भने केहीले दीर्घकालीन रुपमै पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणलाई जोड दिएका छन् ।
तनहुँका दशै वटा स्थानीय तहले पर्यटन प्रवर्धनका लागि कृत्रिम ताल, दृश्यावलोकन केन्द्र, शिशाको दृश्यवलोकन स्तम्भलगायतका संरचना निर्माण गर्ने योजना अगाडि सारेका छन् ।
जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको बन्दीपुरमा शिशाको दृश्यावलोकन स्तम्भ निर्माणका लागि गाउँपालिका लागिपरेको छ । बन्दीपुरको पर्यटन प्रवर्धनमा थप योगदान पुर्याउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले शिशाको ‘दृश्यावलोकन स्तम्भ’ निर्माण गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउछन् । बन्दीपुरको टुँडिखेलमा निर्माण गरिने शिशाको ‘दृश्यावलोकन स्तम्भ’ का लागि करीब रु तीन करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जमीनको सतहबाट ५ फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकनको केन्द्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।
“बन्दीपुर आफैंमा पनि सुन्दर र प्रख्यात पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ,” गाउँपालिकाका अध्यक्ष थापाले भने – “यहाँको पर्यटन उद्योग विस्तारमा यसले ठूलो योगदान दिनेछ भन्ने अपेक्षा गरेका छौँ ।” ‘दृश्यावलोकन स्तम्भ’ मा दुरबीनको समेत व्यवस्था मिलाइनेछ । एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ को अहिले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण भइरहेको छ । डिपिआरको काम सकिने बित्तिकै टेण्डरको प्रक्रिया अगाडि बढाइने थापाले जानकारी दिए ।
बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भइरहेको छ । गत वर्ष मात्रै एक लाख ५० हजार पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । बन्दीपुर घुम्न आउनेमध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले ‘दृश्यावलोकन स्तम्भ’ निर्माणपछि अझ यो सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।
बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ । यहाँ रहेका पुराना घरहरुका कारण पनि विदेशीहरु आकर्षित हुने गरेका छन् । पोखरादेखि ७४ किलोमिटर र काठमाडौंदेखि १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर लगायतका स्थलहरु यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने गरेका छन् ।
दक्षिणी भेगमा रहेको घिरिङ गाउँपालिकाले खोलालाई थुनेर घुमाउने ताल बनाउन लागेको छ । घुमाउने तालको डिपिआर तयार भएको छ । घिरिङ गाउँपालिका–३ मा अवस्थित गोफाखोला थुनेर ताल बनाउन डिपिआर तयार भएको र टेण्डर आह्वान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष रणबहादुर रानाले जानकारी दिए । कुल ७९ रोपनी क्षेत्रफलमा ताल निर्माणका लागि रु तीन करोड बजेट अनुमान गरिएको छ । ताल निर्माणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा रु एक करोड विनियोजन गरेको छ ।
ताल निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत सङ्घीय सांसद केदार सिग्देलले रु ५० लाख र गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेका छन् । थप रकमका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिने अध्यक्ष रानाले बताए ।
ताल वरपर पूर्वाधार निर्माणका लागि गाउँपालिकाले गत आवमा रु ३० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटले ताल निर्माण हुने गोफा खोलाको चारैतर्फबाट मोटरबाटो पुर्याइएको छ । “यहाँका बासिन्दा बसाइँ सरेर अन्यत्रै गएका छन्, गाउँबस्ती रित्तो हुने क्रम बढ्दो छ, ताल निर्माणपछि गाउँ छाडेका मानिसहरु गाउँ फिर्ता हुने विश्वास गरेका छौ,” रानाले भने । गाउँपालिकाले खोला वरपरको ४५ रोपनी जग्गा अधिग्रहण गर्नेछ ।
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिकाले दुई ठाउँमा कृत्रिम ताल बनाउन सम्भाव्यता शुरु गरेको छ । भानु नगरपालिका–३ र ८ स्थित फाउदी रह र भानु नगरपालिका–१२ र १३ कर्स्याङ्दी खोला थुनेर ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।
त्यस्तै, भानु नगरपालिका–९ स्थित गढीमाईमा दृश्यावलोकन केन्द्र निर्माण गर्न लागिएको छ । दृश्यावलोकन केन्द्र निर्माणका लागि चालु आवमा रु २० लाख विनियोजन गरिएको छ । “भानुभक्त आचार्य र नेमुनि ऋषिको जन्मथलो भए पनि यहाँको पर्यटकीय स्थल ओझेलमा परेका छन्, पर्यटक त आउँछन् तर, उनीहरुलाई भुलाउन पूर्वाधार छैन,” पाण्डेले भने – “त्यसैका लागि पूर्वाधार निर्माणमा जोड दिएका छौं ।”
व्यास नगरपालिकाले दुई वटा कृत्रिम ताल निर्माण गर्ने योजना अगाडि बढाएको छ । व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण शुरु भइसकेको छ । व्यास नगरपालिका–३ स्थित मादी नदीमा ताल निर्माणका लागि डिपिआर तयार भएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।
कृत्रिम ताल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको थियो । मादी नदीमा ताल निर्माणका लागि अब टेण्डर प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । दमौलीदेखि शिशाघाटसम्म मादी नदीलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले मादी नदी बहुउद्देश्यीय परियोजनाको गुरुयोजना निर्माणलाई समेत अगाडि बढाइसकेको छ । नगरप्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा ताल निर्माणलाई अगाडि बढाउने र दोस्रो चरणमा जग्गा व्यवस्थापनको काम गर्ने लक्ष्य राखिएको छ ।
“मादी नदीमा ताल बनाउन सकिए डुङ्गा चलाउन सकिने र पर्यटकलाई आकर्षित गर्न सक्ने अध्ययनबाट देखिएको छ,,” नगरप्रमुख न्यौपानेले भने – “यसले समग्र व्यास क्षेत्रकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।” काठमाडौँबाट १५० र पोखराबाट ५० किलोमिटरको दूरीमा रहेको दमौलीस्थित मादी नदीमा बाँध बाँधेर कृत्रिम ताल सहितको संरचना निर्माण गर्न करीब रु ६ अर्ब लाग्ने अनुमान गरिएको छ । कृत्रिम ताल सहितको परियोजनालाई सरकारी–निजी–समुदायको साझेदारीमा निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजना अन्तर्गत जनजातिसँग सम्बन्धित गाउँ, ५०० क्षमताको सभाहल, वनस्पति फूलबारी, मनोरञ्जन केन्द्र, वाटर पार्क, मिनी गल्फ कोर्स लगायतका संरचना निर्माण गरिनेछ ।
यस्तै, भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी व्यास नगरपालिका–६ गलेखामकोटमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ । नगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गलेखामकोटमा रु १६ लाख ५० हजारको लागतमा स्तम्भ निर्माण गरिएको व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारीले जानकारी दिए । “भ्रमण वर्षलाई सफल बनाउन पूर्वाधार निर्माणको आवश्यकता खड्किएपछि दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो,” वडाध्यक्ष भण्डारीले भने – “यसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न मद्दत पुग्छ ।”
गलेखामकोटमा रहेको कोटभैरव मन्दिरको प्रचारप्रसारका लागि पनि यो स्तम्भले सहयोग पुग्ने विश्वास गरिएको छ । “गलेखामकोट आफैंमा एउटा पर्यटकीय स्थल हो,” भण्डारीले भने – “ दृश्यावलोकन स्तम्भ निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल अझै बढ्ने अपेक्षा गरेका छौं ।”
तीन तलाको दृश्यावलोकन स्तम्भबाट एकैपटकमा २० भन्दा बढी पर्यटकले दृश्यावलोकन गर्न मिल्नेछ । यहाँबाट कास्कीको फेवाताल, माछापुच्छ्रे, धवलागिरि, अन्नपूर्ण, मनास्लु लगायतको हिमशृङ्खला देख्न सकिन्छ । गलेखामकोट पुग्ने पर्यटकलाई बास बस्न पाहुनाघर पनि निर्माण गरिएको छ ।
समुद्र सतहबाट २ हजार २०७ मिटरको उचाइमा रहेको गलेखामकोट बाइसे चौबिसे राज्यको पालामा चक्रधारी राजाले शासन गरेको ठाउँ हो । यहाँ रहेको कोटभैरव मन्दिरमा दशैंका बेला विशेष पूजाआजा हुने गरेको छ । बडादशैंको नवमीको दिन मन्दिरमा पञ्चबली दिने प्रचलन रहेको स्थानीयवासी शिवराज काफ्लेले बताए । मन्दिरमा राना जातिले पूजारी र ब्राम्हण जाति पुरोहितको रुपमा काम गर्दैआएका छन् ।
पर्यटकीय सम्भावना बोकेर पनि यो ठाउँ ओझेलमा पर्दैगएको स्थानीयवासीको गुनासो छ । स्थानीयवासी राजकुमार श्रेष्ठले भने –“यो आफैमा पनि छुट्टै विशेषता बोकेको ठाउँ हो तर, यसको पर्याप्त प्रचारप्रसार हुन सकेको छैन । स्तम्भ बनेपछि यस ठाउँको प्रचार हुनेमा विश्वस्त छौं ।” यस ठाउँमा युद्धमा प्रयोग गरिएको हातहतियार सुरक्षित रुपमा राखिएका छन् ।