१३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सम्बद्ध खेलाडीले २३ स्वर्णसहित १०३ पदक प्राप्त गरेका छन्।
सागमा व्यक्तिगत तथा सामूहिक गरी क्लबका २३ खेलाडीलाई स्वर्ण पदकको सफलता मिलेको नेपाली सेनाका महासेनानी शशिकिरण रायमाझीले जानकारी दिए। प्रतियोगितामा नेपाली सेनाका खेलाडीले ३१ रजत र ४९ कास्य पदक प्राप्त गरेका छन्।
प्रमुख सुरक्षा अङ्गका रूपमा रहेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पियन’ विभागीय टोली हो। आर्मी क्लबमा आबद्ध गौरिका सिंहले पौडीका विभिन्न खेलमा चार स्वर्णसहित नौ पदक जितेर यस प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको परिचय स्थापित गरिन्।
तेक्वान्दो विधामा सेनाको विभागीय टोलीमा रहेर स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा आयशा शाक्य, सञ्जीव ओझा, सीना मादेन लिम्बु, निता गुरुङ, प्रशंसा क्षेत्री, काजल श्रेष्ठ, सक्षम कार्की र भूपेन श्रेष्ठ छन्।
यसैगरी कराँतेमा सङ्गीता मगर, प्रवीण मानन्धर र कुसुम खड्का तथा उसुमा विजय सिँजाली, सुस्मिता तामाङ र निमा घर्तीमगरले स्वर्ण पदक जितेका छन्।
स्वर्ण जित्ने गल्फका सुवास तामाङ, बक्सिङकी मीनु गुरुङ, जुडोकी पुनम श्रेष्ठ, दुवाथोलनका हिमाल टमाटा तथा फुटबलका सुमन अर्याल, विकेश कुथु, विकास खवास र सेसेहाङक आङदम्बे पनि आर्मीकै हुन्।
महासेनानी रायमाझीका अनुसार गत कात्तिक १ देखि १० गतेसम्म चीनको उहानमा आयोजित सातौँ विश्व सैनिक खेलकूद (सिज्मस्) मा भाग लिएका अनुभवी खेलाडीलाई सागमा सहभागी गराइएकाले उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो ।
‘खेलाडी छनोटमा हामीले विशेष ध्यान पुर्याउनुपर्छ, प्रतियोगिता जित्न खेल सामग्री, खेलाडीमा खेल्छु भन्ने भावना, खेलाडीको शारीरिक तन्दुरुस्ती तथा क्षमताले प्रभाव पार्छ,’ महासेनानी रायमाझीले भने, ‘विभागबाट प्रदान गरिँदै आएको निरन्तर तालिमले पनि पदक जित्न मद्दत गरेको हो।’