देवचुली,
पछिल्लो समय बजारमा नयाँ पलाष्टिक तथा स्टिलका भाडाहरु आउन थालेपछि तामा पित्तलको भाडा लोप हुदै गएको पाइन्छ । तामा महंगो हुने, कच्चापदार्थ, कोइला लगायतका समानको अभावका कारणले गर्दा पछिल्ला बर्षमा तामाका भाडा बनाउने पेशा नै संकटमा पर्ने अवस्था आएको देवचुली १३ दलदलेमा विगत ६ महिना देखि तामा पित्तल व्यवसाय गर्दै आउनुभएका अर्जनु वि.कले बताउनुभयो । करिब १४ देखि १५ बर्षबाट चितवनको भण्डाराामा उक्त काम गर्दै आउनुभएको वि.कले हाल देवचुलीमा तामा पित्तलको काम गर्दै हुनुहुन्छ ।
वि. कले आफ्नो आरनमा ताउलो, गाग्री, पुजामा प्रयोग गरिने तामा पित्तल का भाडाकुडा जस्ता सम्पुर्ण सामाग्री बनाउने गर्नुहुन्छ । वि.कले ४ जनालाई रोजगार समेत दिनुभएको छ । बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म उहाँहरु तामा पित्तलका भाडाकुडा बनाउन व्यस्त हुन्छन् । यो काम गरे वापत कर्मचारीलाई तलब, कोइला, कच्चापदार्थ खरिद गर्दा मासिक रु २० देखि २५ हजार कमाउने गरेता पनि जिविको पार्जनमा कठिन हुने गरेको उहाँले बताउनुभयो ।
वि.कको अनुसार पहिला गाँउमा सबैले तामाका भाडामा पानी राखेर पिउदा स्वास्थ्यलाई लाभ हुने भएकाले बुढापाकाहरुले तामाको भाडाको प्रयोग बढी गर्दथे तर अहिले सबैको घरमा धाराको जडान भएपछि तामाको भाडा प्रयोग गर्ने मानिसहरुको संख्यामा कमि देखिन थालेको बताउछन् ।
वि.कको परिवारमा ४ जना सदस्य रहेका छन् पहिले देखि नै बाबुदाजुले सम्हालेको पेशालाई आफुले पनि निरन्तरता दिएको बताउनुभयो । तामाका भाडा बनाउन श्रमको बढी प्रयोग हुने गर्दा नयाँ पुस्ताका युवाहरुले यस पेशालाई चासो नदिएको उहाँको भनाईछ ।
यस देवचुली नगरपालिका भित्र कुनै पनि तामा पितलको भाडा बनाउने ठाँउ नभएकाले आफुहरु चितवनबाट यहाँ सम्म आएको बताउनुभयो । यस क्षेत्रमा रहेर व्यवसायीलाई राम्रो तरिकाले अगाडि बढाउने सोच रहेको वि.क बताउनुहुन्छ । कोइला तथा औजारहरुको निकै अभाव पर्ने गरेकाले स्थानीय तहबाट केही सहयोग भए तामा पितल भाडा बनाउने पेशा लोप नहुने थियो कि वि.कले बताउनुभयो ।
एकचोटि प्रयोग गरेको कोइला अर्काे चोटि प्रयोग गर्न नमिल्ने भएकाले गर्दा पनि कोइलामा निकै समस्या रहेको वि.कले गुनासो गर्नुभयो । यस किसिमका सामाग्रीलाई प्रयोगमा ल्याईरहने हो भने उक्त पेशा पक्कै लोप नहुने थियो कि यस बिषयमा सबैको ध्यान जान आवश्यकता रहेको छ ?