देवचुली,
आभानी मिडिया प्रा.लि द्धारा संचालित ह्याप्पी एफ.एमको पाचौँ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको भिजिट देवचुली पर्यटन उत्सवको (आज) तेस्रो दिन बृहद कवि गोष्टी, विभिन्न सांस्कृतिक कार्यक्रम र रेस्लिङ्ग सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता आभानी मिडिया प्रा.लिका अध्यक्ष डिल्लीराम कडरिया रहनुभएको थियो भने प्रमुख आतिथ्तयता पुर्व माननीय महेन्द्र ध्वज जि.सीले गर्नुभएको थियो ।
यस्तै विशेष अतिथीका रुपमा बालकृष्ण काफ्ल, डिलाराम पाण्डे, ढाकाराम भट्टराई , खिमानन्द भुसाल, लगायतका समाजसेवी व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको पहिलो सत्रमा बृहद कवि गोष्ठी सम्पन्न गरिएको थियो । कवि गोष्ठी पश्चात सुरु भएको कार्यक्रमको दोस्रो सत्र विविध सांस्कृतिक कार्यक्रम साँझमा सम्पन्न भएको छ ।
विभिन्न स्थानीय कलाकारहरुको प्रस्तुतीहरु सँगै सुरु गरिएको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका सदस्य कलाकार सरु गौतम, भोजराज काफ्ले, सपना परियार र सम्भु थापा, टार्जन राज कोटी (कमेडियन), हरुको प्रस्तुती रहेको थियो । स्थानीय कलाकार तेजु मगर ले चर्चित एकल भाकाको साथमा दोहोरी गाएर उपस्थित दर्शकहरुलाई उफारेका थिए भने राष्ट्रिय कलाकार भोजराज काफले बोतलको पानी, माछा मिठो मलेखुको जस्ता चर्चित गीत गाउदै दर्शक सँगै मंचमा आसिन अतिथीहरुलाई पनि नचाएका थिए ।
यस्तै भिजिट देवचुली पर्यटन उत्सवको चौथो दिन अर्थात मंसिर आठ गते आइतबार चर्चित लोक दोहोरी गायिका ज्योती मगरको साथमा अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।