जेठ-१२,एलिना केसी,देवचुली
नवलपुरको देवचुली नगरपालिकामा रहेको १०३.८ ह्याप्पी एफ एमले आयोजना गरेको ईण्डियन प्रिमियर लिग(आईपिएल)को बिजेता अनुमान प्रतियोगिता अन्तर्गत निकुञ्ज अफरका बिजेतालाई जंगल सफारी गराईएको छ। बिजेतासँगै ह्याप्पी एफ एमका ब्यवस्थापन समिती, कर्मचारी, शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारी, दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देविलाल देवकोटा, राजथला टुर्स एण्ड ट्राभल्सका सञ्चालक एवम् सञ्चारकर्मी ढुण्डीराज केसी,चितवन राष्ट्रिय निकुञ्ज दिव्य पोस्टका शिव नेपाली लगायतको उपस्थितिमा जंगल सफारी गराईएको थियो। दिव्य मध्यवर्ती भित्रको मड माउन्टमा गरिएको औपचारिक कार्यक्रमको अध्यक्ष ह्याप्पी एफ एमका प्रवन्ध निर्देशक दीपेश कडरियाले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष लिलाधर अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले नवलपुरको पर्यटन बिकासका लागी बिभिन्न प्रयास राज्यस्तर र निजि क्षेत्रबाट पनि भैरहेको सन्दर्भमा ह्याप्पी एफ एमको जंगल सफारी कार्यक्रमले सकारात्मक सन्देश दिने बताउनुभयो। सो अवसरमा एफ एमले पर्यापर्यटन र संरक्षणको क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले यहाँको बिशेषता विश्वसामु पुर्याउन चुनौति रहेको र चुनौती चिरेर काम गर्न आँफुहरु तयार रहेको बताउनु भयो।
यस्तै कार्यक्रममा बोल्दै दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देविलाल देवकोटाले दिव्य मध्यवर्ती वन्यजन्तु अवलोकनका लागी सौराहा भन्दा पनि प्रचुर सम्भावना रहे पनि प्रचार प्रसार हुन नसक्दा ठुलो संख्यामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन नसकेको बताउनु भयो। यसैगरी राजथला टुर्स एण्ड ट्राभल्सका सञ्चालक ढुण्डिराज केसीले शिसवार अन्तर्गतका ४ ओटा सामुदायिक वन दिव्य,मातृभुमी,नारायणी र प्रगती सामुदायिक वनमा सफारी गर्दा धेरै जंगली जनावर र चराचुरुङ्गी देख्न सकिने भएकाले नवलपुर क्षेत्र भोलीका दिनमा पर्यटकको गन्तब्य हुनेमा दुई मत नरहेको बताउनु भयो।
औपचारिक कार्यक्रमको समापन गर्दै ह्याप्पी एफ एमका प्रवन्ध निर्देशक दीपेश कडरियाले एफ एमले सानै क्षेत्रबाट भए पनि गण्डकी प्रदेशको आन्तरिक पर्यटन बर्ष २०१९ र नेपाल सरकारको नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य परिपुर्ति गर्न यस किसिमको कार्यक्रम सहायकसिद्ध हुने बताउनु भयो। प्रदेश र केन्द्रले पर्यटन बर्ष घोषणा गर्नुपुर्व नै एफ एमले २०७५ साल मै "घडियाल काव्य उत्सव" सम्पन्न गरि नवलपुरको पर्यटन बिकासमा ईट्टा थप्ने कामको थालनी गरिसकेको बताउनु भयो।
साथै घडियाल मात्र नभइ यस क्षेत्रका लोपोन्मुख र संकटापन्न जिवजन्तुलो संरक्षणका लागी एफ एम सदैव तयार रहेको बताउनु भयो। औपचारिक कार्यक्रमको सहजीकरण ह्याप्पी एफ एमका स्टेसन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो।
एफ एमको जंगल सफारीका क्रममा थुप्रै संख्यामा गैंडा,रतुवा,मृग,हरिण,जरायो,चित्तल, बंदेल,मयुर,आदि जनावर र चराचुरुङ्गी सजिलैसँग देख्न सकिएको थियो।