चितवन, जेठ १२–
शरीरको खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अङ्ग तथा कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ ।
पुष्पाञ्जली अस्पतालका निर्देशक एवम् भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले थाइराइड घाँटीमा आउने एउटा सामान्य समस्या भएको बताए । ‘धेरै जटिलता ल्याउने, आयु नै घटाउने समस्या होइन’ अधिकारीले भने, –‘थाइराइड ग्रन्थीमा कुनै गडबडी भयो भने थाइराइडको समस्या हुन्छ ।’ कसैकसैलाई हर्मोन कमी छ भने हातको नसा सुन्निने, त्यसले काम गर्न गाह्रो हुने, हात लाटो हुने, झमझमाउने जस्ता समस्या देखापर्ने अधिकारीले बताए ।थाइराइड हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिने उल्लेख गर्दै अधिकारीले थाइराइड हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुने जानकारी दिए । थाइराइड हर्मोन कम हुँदा शरीर गलेको महसुस हुने, शरीर सुन्निने, कपाल झर्ने, निद्रा नलाग्ने वा बढी लाग्ने, छाला फुस्रो हुने, महिनावारी गडबड हुने जस्ता समस्या देखिने अधिकारीले बताए ।त्यस्तै, थाइराइड हर्मोन बढी हुँदा तौल घट्दै जाने, शरीर तातो हुने, निन्द्रा नलाग्ने, मुटुको धड्कन बढेजस्तो हुने, हात–खुट्टा काँप्ने, चिडचिड पसिना आउने, बढी रिस उठ्ने जस्ता समस्या देखिने अधिकारीको भनाइ छ । थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिने गरेको अधिकारीले बताए । थाइराइड खानेकुराले गर्दा हुने समस्या नभएको अधिकारीले बताए । ‘सुरु–सुरुमा आयोडिनको कमीले गर्दा हुने गलगाँडको समस्यालाई बन्दा, काउली बार्नुपर्छ भनिन्थ्यो’ अधिकारीले भने, –‘तर अहिले त्यस्तो हुँदैन अहिले देखिने थाइराइडको समस्यालाई खानामा त्यस्तो केही पनि बार्नुपर्दैन ।’ खानामा बार्नु नपर्ने भएपनि काँचो र विषादीयुक्त खानेकुराहरु सेवन गर्न नहुने अधिकारीले बताए ।चितवन मेडिकल कलेजका मुटु रोड विशेषज्ञ डाक्टर सुधीर रेग्मीले थाइराइड हर्मोन गडबडी छ कि छैन भनेर लक्षणको आधारमा पहिचान गर्न नसकिने बताए । ‘यसको लागि थाइराइड फङ्सन टेस्ट भनेर रगत जाँच हुन्छ’ रेग्मीले भने, –‘त्यो जाँच नगरी खालि लक्षणको आधारमा मात्रै थाइराइडको औषधि चलाउन मिल्दैन ।’ नियमित औषधि सेवनसँगै खानपानमा ध्यान दिएमा थाइराइड रोगको समस्या समाधान हुनसक्ने रेग्मीले बताए ।‘थाइराइड समस्या जटिल र डराउनु पर्ने खालको होइन’ रेग्मीले भने, –‘यसले आयु घटाउँछ भन्ने भ्रम छ, त्यो गलत हो ।’ थाइराइड भएपछि बच्चा हुँदैन भन्ने सोचाई पनि गलत भएको उल्लेख गर्दै रेग्मीले उपचारपछि सन्तान हुने बताए । ‘हर्मोन कमी वा हाइपोथाइरोइडिजम भयो भने यदि तपाईंको हर्मोन एकदमै कमी जिरो लेभलसम्म छ’ रेग्मीले भने, –‘धेरै वर्षसम्म ट्रिटमेन्ट पाउनु भएन भने कोमासम्म जान सक्छ ।’
फोक्सो, मुटुमा पानी जम्न सक्ने, मुटुमा पानी जम्यो भने पेरिकार्डियल फ्युजन हुने रेग्मीले बताए । ‘थाइराइडका बिरामीहरूमा देखिने जटिलता हुन्छ, जसमा मुटुको ताल गडबडी हुन्छ, मुटुले राम्रोसँग काम गर्दैन’ रेग्मीले भने, –‘मुटुको काम भनेको रगतलाई राम्ररी पम्प गर्ने काम हो । थाइराइड स्ट्रोम भन्ने जटिल समस्या हुन सक्छ । सबै ट्रिटमेन्ट टाइममा पाउनु भएन भने जटिलताहरू आउन सक्छ ।’ थाइराइडबारे विशेषज्ञसँग सल्लाह लिएर ट्रिटमेन्ट गर्दा हुने रेग्मीले बताए ।थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा धेरै देखिन्छ । हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३० देखि ४० वर्ष कटेपछि धेरै देखिन्छ । नेपालमा थाइराइडका बिरामी कति छन् भन्ने विषयमा यकिन तथ्याङ्क छैन ।