सञ्चालकले नाम बोलाए । उनी सारीको सप्को मिलाउँदै अगाडि गइन् । माइक समातिन् । दायाँ–बाँया हेरिन् । मञ्चको छेउमै मन्त्री प्रमुख अतिथि छन् । गाउँका गन्यमान्य र राजनीतिक दलका नेता मञ्चमा आसिन छन् । गाउँका स्थानीयदेखि पत्रकारसम्मको नजर मञ्चतिरै छ । उनको अनुहारको रङ बदलियो । गोरो अनुहार रातो हुँदै आयो । सम्बोेधनको ढोका खुल्यो, ‘यस कार्यक्रमका सभापतिज्यू, कार्यक्रमका प्रमुख अतिथिज्यू…।अनुहार रातोपिरो पारेरै भए पनि सम्बोधनसँगै उनले खरर.. विषयबस्तु राखिन् ।
उनी हुन्, सनमाया गुरुङ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाकी उपाध्यक्ष । स्थानीय सरकारको न्यायिक समितिकी ‘न्यायाधीश ।’ गाउँपालिका केन्द्र ताकुकोटमा भएको कार्यक्रममा न्यायिक समितिले मिलान गरेका विषय जानकारी दिँदै थिइन् ।
जनताले गाउँपालिका उपाध्यक्षको कुर्चीमा पुर्याएपछि सनमायाले माइक समातेर नियमित बोल्न थालेकी हुन् । अहिले आफ्ना कुरा राख्न सक्ने त भएकी छन् तर निर्धक्कले राख्न सक्ने अझै भइसकेकी छैनन् । मञ्चमा गन्यमान्य र पदीय हिसाबले उपल्लो दर्जाका व्यक्तिहरुका सामुन्ने बोल्न अझै पनि उनलाई धक लाग्छ ।
‘तर, पहिलेजस्तो माइकमा बोल्नै नसक्ने छैन, हिम्मत गरें । सक्छु आजभोलि । बिना माइक त मान्छेहरुलाई कुरा बुझाउन सक्ने भएकी छु,’ अनलाइनखबरसँग सनमायाले सुनाइन् ।
सनमाया गाउँकै नेतृत्व गर्न सक्ने क्षमता बढाइरहेकी छन् । ‘पहिले त म अलमल्ल हुन्थेँ । आजभोलि त मुद्दा मिलाउन सक्छु । मान्छेहरुलाई यसो हो भनेर सम्झाउन सक्छु । कसैले हेयको दृष्टिकोणले बोले पहिल्याउन र प्रतिवाद गर्न सक्छु,’ सनमायाले अनुभव खोलिन् ।
३ वटै तहका सरकारमा प्रमुख वा उपप्रमुखमध्ये १ जना महिला अनिवार्य भन्ने संविधानमै लेखिएपछि सनमाया बारपाक सुलिकोटको उपाध्यक्ष बन्न पाइन् । नत्र उनलाई यो पद महिलाले पाउँछन् भन्नेमा विश्वासै छैन ।
संघीयताको कार्यान्वयनसँगै प्रमुख, उपप्रमुखमध्ये १ महिला भने पनि अधिकांशमा महिलालाई उपप्रमुख नै दिइयो । सकेसम्म महिलालाई नेतृत्वमा जान दिनै हुँदैन भन्ने प्रवृति उनले देखिन् । ‘नत्र किन अधिकांश ठाउँमा महिलालाई उपप्रमुखमा मात्र सीमिति गरियो ? राजनीतिक पार्टीमै पनि हेर्नुहोस् न ?’ सनमायाले असन्तुष्टि पोखिन् ।
तर, सनमयाका लागि भने उपाध्यक्ष पद पनि नसोचेको कुरा थियो । उनले कहिल्यै राजनीतिक पार्टीको नेतृत्वमा पुग्छु भनेर लक्ष्य राखिनन् । न कुनै सरकारको उपप्रमुख हुन्छु भन्ने कल्पनासम्म गरिन् ।
उनले यतिमात्र सपना देखेकी थिइन्, ‘सुरुमा पढ्न पाइयोस् । त्यसपछि दुःखै किन नपरोस् तर हेपिनु, चेपिनु नपरोस् ।’ तर, सनमायाले एक त उमेर ढल्केपछि पढ्ने भोक मट्ने अवसर पाइन्, अर्को पढ्छु भन्दा छोरी भएकै कारण अवरोध भयो ।
यसो हुँदा सनमायामा विद्रोह जाग्यो । अझै पनि कति आमा दिदीबहिनी अभिव्यक्तिबाट बञ्चित् छन् । परिवारको निर्णय नै आफ्नो निर्णय मानेर चुपचाप छन् । सनमायाले त्यो बेला नै नेतृत्वको छनक दिएकी थिइन् । अहिले आएर उनलाई लाग्छ, ‘हाम्रोजस्तो समुदायमा त्यति बोल्नु र प्रतिवाद गर्नु पनि ठूलो कुरा रहेछ ।’
पञ्चायत तथा कांग्रेस पक्षधर परिवारकी छोरी क्रान्तिकारी बनेर निस्किन् । विवाह गर तर नपढ् भन्ने परिवारलाई विवाह नै नगर्ने बरु अंश खाएर बस्ने जवाफ दिइन् । ०५९ सालतिरै तत्कालीन माओवादी पार्टीको सदस्यता लिएर घरबाटै सहयोग गर्न थालेकी सनमायाले गएको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित रुपमा उपाध्यक्षको टिकट पाइन् । जन्मघर, कर्मघर र आफन्तसँग कहिले विद्रोही त कहिले प्रतिद्वन्द्वी हुँदै अहिले सनमाया स्थानीय सरकारको उपाध्यक्षको कुर्चीमा छिन् ।
हँसिलो अनुहार । गुरुङ भाषा मिसिएको, गुरुङ लवजको बोली । मधुरो र सालिन आवाज । मिजासिलो व्यवहार र हाउभाउ । सनमायालाई देख्नेले सोच्छन्, ‘उनले जीवनमा कुनै दुःख र अप्ठेराका सिँढी चढेकै छैनन् । कनै संघर्षको कुइनेटामो ठोकिएकै छैनन् ।’ तर, सनमाया सूर्य चम्किएझै उज्यालो अनुहार बनाएर फिस्स मुस्कुराइ दिन्छिन् ।
उनै सनमायाले गाउँपालिका कार्यालयको भित्तामा अढेस् लगाउँदै जीवनका केही किस्साहरु सम्झिन् । गाउँपालिकाको उपाध्यक्षसम्मको कथा, भइसकेपछिका मिठा–नमिठा केही अनुभव अनलाइखबरसँग बाँडिन् ।
पारिवारिक प्रतिस्पर्धीलाई जितेर कुर्चीमा
बाबु पञ्चायतका पक्षपाती । कांग्रेसको राजनीति गर्ने । लामो समय प्रधानपञ्चसमेत भएका । सशत्र संघर्षताका कांग्रेसको घर भएकाले तत्कालीन माओवादी खुब आउँथे । शंकासमेत गर्ने भएकाले सनमायाको परिवार उनीहरुको निगरानीमा थियो ।
कृष्ण धिताल, अमर तमु, शक्ति लामिछाने, अहिलेका बारपाक गाउँपालिकाकै अध्यक्ष विष्णु भट्टलगायत घरमा आउँथे । उनीहरु घरमा खाना खान्थे, सुत्थे, जान्थे । क्रान्तिका कुरा गर्थे । समानता र न्यायका कुरा गर्थे । सनमायालाई पनि पार्टी भनेको त माओवादी नै ठीक रहेछ भन्ने लाग्यो । ०५९ सालतिरै सदस्यता लिएर घरबाटै सहयोग गर्न थालेदेखि नै माओवादीनजिक नै रहिन् ।
देशमा गणतन्त्र, संघीयता आइसकेपछि सनमाया त्यति सक्रिय राजनीतिमा थिइनन् । तर, स्थानीय तहको निर्वाचनमा माग नै नगरी उनलाई पार्टीले उपाध्यक्षको टिकट दियो । एक हिसाबले सनमायका लागि उपमेयर पद चिठ्ठाजस्तै नै थियो ।
सनमायाका दाइ बाबुकै अनुशरण गर्दै कांग्रेसमै थिए । कांग्रेसका तर्फबाट सनमायाका दाजु बारपाक वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार बने । सनमायाको ठूलोबाकी छोरी दिदी एमाले राजनीतिमा थिइन् । उनलाई तत्कालीन एमालेले सनमायाकै प्रतिस्पर्धीका रुपमा उभ्यायो ।
कर्मघरतिर पनि कांग्रेसकै समर्थक थिए । सनमायाका ससुरा बालाई आरुघाटको वडा नम्बर ६ का वडाध्यक्षका रुपमा कांग्रेसले उभ्याएको थियो । घर, माइतीबीच नै फरक पार्टी र फरक उम्मेदवारको प्रचारमा होड चल्यो । फरक पार्टीमा भएका कारण दाइले आफ्नै बहिनीलाई भोट माग्न मिलेन, बहिनीले दाइलाई भोट हालिदिनुस् भन्न मिलेन । न बाले, न ससुरा बाले सनमायाका लागि भोट माग्ने नैतिकता थियो ।
चुनावी प्रचार होमिएपछि अनेक प्रचार गरिए । ‘राजनीति भनेकै विवाद र आरोपप्रत्यारोप रहेछ,’ सनमायाले भनिन्, ‘आफ्नै–आफ्नै बीच कसरी आरोप लाउनु ? कसरी प्रचार गर्नु ।’
दुनियाँमा कतै नभएको राजनीति आफ्नो घरमा भएकोमा सनमायाकी आमा गनगनाइरहन्थिन् । ‘किन परिवारबाटै तीन–तीन जना राजनीतिमा उठेको ? हामीले कसलाई भोट दिने ?’ भाइहरु भन्थे । सनमाया माइतीको वडामा भोट माग्नै गइनन् ।
‘लाग्यो बरु कसैले भोट नदिओस् तर हाम्रो पार्टीलाई भोट दिनु भनेर कसरी जानु,’ सनमायाले भनिन्, ‘चुनावको अघिल्लो दिनमात्रै गएँ । के गर्ने तनि पार्टीले टिकट दिइपछि भनेर दाइले भन्नु भयो ।’
निर्वाचनमा भयो । अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडामा तत्कालीन माओवादीले जित हाँसिल गर्यो । आफ्नै दिदीलाई उनले उपाध्यक्षमा ठूलो मातान्तरले हराइन् । बिजय जुलुस सुरु हुँदा तर सनमायाको मन खुसी भएन् । ‘आफ्नै दाइ, दिदी र घरमाइती हराएर कसरी खुसी मनाउनु,’ सनमायाले भनिन् ।
राजनीतिमा निस्क्रियजस्तै बनिसकेकी सनमाया एकाएक आफ्नै परिवारका सदस्यलाइ हराउँदै यसरी उपमेयरको कुर्चिमा बस्न आइपुगिन् ।
१४ वर्षमा एबीसीडी र ८ पछि पढ्न नपाउँदा विद्रोह
सनमाया गुरुङको मनमा बिद्रोह जाग्यो । त्यो विद्रोह परिवारसँगमात्रै होइन, विवाह नामक संस्थासँग पनि थियो । उनले निर्णय गरिन, ‘म विवाह गर्दिन् । घरमै बस्छु । बाउ–आमाकै सम्पत्ति खान्छु । अंश लिन्छु ।’
१४ वर्षकी हुँदा सनमायाले बल्ल ए, बि, सि, डी सिक्न पाइन् । सेभ द चिल्ड्रेन नामक संस्थाले चेलिबेटी शिक्षाका लागि बिहानी कक्षा चलाउन थाको थियो । सनमयाको पढ्ने भोकलाई सघाउँदै चेलिबेटी शिक्षा कार्यक्रमले एकैपटक ५ कक्षामा भर्ना हुन पाइन् । सनमायाभन्दा ५÷६ वर्ष कान्छा आफ्नै भाइहरुसँग उनले पढ्न थालिन् । सजिलै पढ्न कहाँ पाइथ्यो, घरका सारा कामधन्दा भ्याएर झोला बोकेर कुद्थिन् ।
‘भाइहरु झोला बोकेर स्कुल जाँदा म काममा निस्कनुपथ्र्यो । बल्ल–बल्ल पढ्न पाएकी थिएँ । मिहिनेत गरेर पढें,’ सनमायाले ऊ दिनको खुसी साटिन्, ‘फस्ट त भइनँ तर सेकेन्ड, थर्ड चाहिँ भए ।’ कक्षा एकदेखि पढ्दै आएका भाइहरुभन्दा एकैचोटी कक्षा ५ मा भर्ना भएकी दिदीले राम्रो अंक ल्याएर कक्षा ८ उत्रिर्ण गरिन् ।
त्योभन्दा माथि पढ्ने उनको जुनूनमा अबरोध लाग्यो । भाइहरु माथिल्लो कक्षा पढ्न अर्को स्कुल गए तर उनलाई बाबुआमाले जान दिएनन् । ‘तिनै जना स्कुल गएर घर, गोठको काम कसले गर्छ,’ बाआमाले अवरोधको प्रश्न तेस्र्याउँदै भने, ‘पढ्न पर्दैन् । तरुनी भइस् बरु विहे गरेर गए हुन्छ अब ।’ गुरुङ समुदायमा उनका उमेरका केटीहरुको विवाह भइसक्थ्यो । तर, उनमा पढ्ने ठूलो चाहना थियो, विहे गर्ने होइन् ।
‘भाइहरु पढ्न पाउने तर म पढ्न नपाउने भए विहे गर्दिन, घरमै बस्छु । अंश खान्छु,’ उनले बाआमाका अगाडिमात्रै नभएर समाजकै विरुद्ध आवाज उठाइन् ।
मास्टर्नी हुँदै एसएलसी
७ कक्षा पास गरेकी सनमाया अनेक प्रास्ताव र जोडबरमा पनि बिहे नगरी बसेकी थिइन् । जब एकदमै ठूलो रहर सपनालाई कसैले थुन्यो भने त्यहाँ बिद्रोह जन्मिन्छ । ‘असाध्यै पढ्न मन लागेर पनि नपाएपछि मान्छे घमन्डी हुँदो रहेछ,’ सनमायाले भनिन्, ‘म धेरै घमण्डी भइसकेकी रहेछु । बिहे गर्दिन भन्ने कुरामा ।’
८ कक्षाभन्दा उपल्लो कक्षा पढ्न नपाएपछि सनमाया घरगोठमै सीमित थिइन् । गाउँमा शिक्षा बिस्तार कार्यक्रम आइपुग्यो । टहरो बनाएर भए पनि स्कुल चलाउन गाउँका अगुवा कस्सिए । आधारभूत स्कुल चल्यो र त्यसको जिम्मा सनमायाले पाइन् । स्कुलको जिम्मा सम्हाल्दै उनी विद्यालय स्रोत केन्द्रको कार्यक्रममा जाँदा प्राइभेटबाट एसएलसी दिन पाइन्छ भन्ने थाहा पाइन् ।
स्कुलको नेतृत्व धान्दै, पढ्दै गरेर सनमायाले प्राइभेट एसएलसी दिइन् तर अंग्रेजी विषयको परीक्षा बिग्रियो । ‘१४ वर्षको उमेरमा त एकबिसिडी सिकेको । कहाँबाट अंग्रेजी राम्रो हुनु,’ सनमायाले सम्झिन्, ‘तर, फेरि अंग्रेजीका परीक्षा दिएँ । पास भएँ ।’ गाउँनजिकैको कक्षा ११ मा भर्ना भएर सनमायाले पढ्न थालिन् । तर, क्याम्पस पनि दिउँसो नै चल्थ्र्यो । तर, स्कुल हेनुपथ्र्यो । घरमै बसेर पढ्ने र परीक्षा दिने तयारी गरेकी उनी फारम भर्न छुटिन् ।
अनेक लाल्छनापछि विवाह
पढ्न नपाए विवाह नै गर्दिन भनेर बसेकी सनमाया ३५ वर्ष लागिसकेकी थिइन् । यतिका समयसम्म पनि विवाह नगरी बसेको भन्दै उनीमाथि अनेक लाञ्छना लाउँथे ।‘भेटे जति सबैले विहे गरमात्रै भन्ने । मलाई खुब रिस उठ्थ्यो । मेरो खुसी हो नि नगरी पनि चल्छ । तिमीलाई केको चिन्ता भनिदिन्थें,’ सनमायाले भनिन्, ‘१७/१८ वर्षमै विहे हुने हाम्रो गुरुङ समुदायमा यतिञ्जेल विहे नगर्नु ठूलो समस्या हो ।’मान्छेहरुले अब कसले पो लान्छ र ? भन्न पनि थाले । शारिरीक रुपमा समस्या छसमेत भन्न भ्याउँदा सनमायालाई लाग्यो यो समाजमा महिलाले विहे नगरी बस्नु भनेको ठूलो अपराध हो । ‘सनमायामा कमजोरी छसमेत भन्ने थाले,’ उनले भनिन्, ‘अब विवाह गर्ने सोचमात्र के बनाएकी थिएँ । आफन्तीले कुरा लिएर आइहाले ।’माओवादी निकट मनमायासँय फेरि अर्को रोचक सम्बन्ध जोडियो । माओवादीकै कारण नेपाली सेनाको जागि छोडेर बसेका व्यक्ति सनमायासँग छोडिन आइपुगे । ‘उहाँ पूर्व नेपाल आर्मीको । उहाँको भिनाजुको भीडन्तमा जान गएपछि एक्लो छोरो भएकाले बुवाआमाले जान नदिनुभएको,’ सनमायाले भनिन्, ‘उहाँसँगै मेरो विवाह हुन लेख्यारैछ ।’३५ वर्षपछि विवाह नै गर्दिन भनेर कसेकी सनमायाले हारिन् । तर, अन्य उद्देश्यबाट पनि विचलित नभएको उनी बताउँछिन् । ‘अहिले उहाँ विदेश हुनुहुन्छ । ५ वर्षकी छोरी भइ । चुनावमा प्रतिस्पर्धी दलबाट उठ्नुभएको दाइसँग गोरखा बजारमा बसेकी छन्,’ उनले सुनाइन्, ‘घर, माइत, आफन्तलाई मिलाएर अहिले उपाध्यक्ष चलाइरहेकी छु ।’ विवाहपछि प्रगतिशील अपांग संघमा काम गर्दागर्दै सनमायाले उपमेयरको टिकट पाइन र जितेर पहिलो पटक नेतृत्वमा आइपुगिन् ।
सिक्दै बित्यो वर्ष दिन, काम गर्न गाह्रो
स्थानीय तह बन्ला र उपाध्यक्ष हुन्छु भन्ने कल्पनासमेत नगरेकी सनमायालाई एक वर्ष त बुझ्नै लाग्यो । के गर्ने, कसो गर्ने भन्नेमै वर्ष दिन बितेको उनी बताउँछन् ।न्यायिक समितिको जिम्मेवारी पाएकी सनमायलाई सुरुमा न्यायिक समिति हुन्छ भन्ने थाहा रहेनछ । ‘आफू त अनविज्ञ थिएँ । समुदायलाई झन् थाहा थिएन । सुरुको एक वर्षमासमितिमा जम्मा २ वटामा उजुरी आए,’ उनले भनिन्, ‘पछिल्लो वर्ष ३४ वटा उजुरी परे,’ सनमायाले भनिन्, ‘अधिकांश मेलमिलाप गराइसकेकी छु ।’दुबैले जितेको महसुस गराएर मात्र आफूले मेलमिलाप गराउने सनमायाले बताइन् । सार्वजनिक पदका आएपछि आउने जटिलता र जोडिने स्वार्थका विषयमा सनमायाले बल्छ बुझ्न थालेकी छन् । ‘आफन्तले हाम्रो पक्षमा केही बोलिदिए हुन्थ्यो, गरिदिएको हुन्थ्यो भन्ने हुँदोरहेछ । पार्टीका कार्यकर्ता पनि केही दिए हुन्थ्यो भन्ने चाहने रहेछन्,’ सनमायाले अनुभव सुनाइन, ‘म साझा व्यक्ति हो नि । म त पटक्कै कसैलाई गर्दैन् ।’भविष्य के हुन्छ, कता जान्छ भन्ने स्वयं सनमायालाई थाहा छैन । ठूलो अपेक्षा र लक्ष्यबिना नै यहाँ आइपुगेकी सनमायलाई भोलिको उतिसाह्रो चिन्ता छैन । बरु उनलाई गरिब, असहाय र पीडित महिलाको भविष्यका निम्ति कुनै कोष बनाउने मन छ । जसले आर्थिक र मूल्य मान्यताकै कारण पढ्ने र बाँच्ने अधिकार गुमाउनु परोस्, त्यसता महिलाका निम्ति सहारा बन्ने उनको सपना छ ।कुराकानीको बिट मार्दै सनमाया भन्छिन्, ‘हेर्दै जाम कहाँ पुगिन्छ । आज राम्रोसँग काम गर्यौं, भोलि बाटो लाग्ला नि ।’