चितवन,
चितवनको रत्ननगर नगरपालिका–६ बछौलीमा थारु अनुसन्धान केन्द्रको भवन निर्माण भएको छ ।देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा क्षेत्रमा निर्माण गरिएको थारु अनुसन्धान केन्द्रको नवनिर्मित भवनको आज (आइतबार) एक कार्यक्रमकाबीच वरिष्ठ समाजसेवी एवंम गैरआवासिय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष जीवा लामिछानेले समुद्घाटन गरे । संग्रहालयसंगै स्थापना भएको अनुसन्धान केन्द्र नेपालकै पहिलो हो । अहिलेसम्म नेपालमा संग्रहालयसंगै अनुसन्धान केन्द्र बनेको छैन् ।अनुसन्धान केन्द्रको भवन उद्घाटनमा बोल्दै प्रमुख अतिथि समाजसेवी लामिछानेले थारु कला सँस्कृतिको बारेमा अनुसन्धान गर्न अब सहज हुनेमा विश्वास व्यक्त गरे । उनले आफू पनि थारु समुदायमै हुर्किएको भन्दै थारु समुदायको विकासका लागि थारु अनुसन्धान केन्द्रको भवन निर्माणका लागि सहयोग गरिएको बताए । उनले भने–‘म थारु भाषा, संस्कृति अझै भलेको छैन, म सदा संस्कृति बचाउने कार्यमा म सदैव सहयोगी बन्न तयार छु ।’ उनले अरु काम गर्ने बेलामा एक पटक सोँचेर मात्रै गर्ने गरे पनि अनुसन्धान केन्द्रको भवन निर्माणका लागि एक पटक पनि नसोचेर सहयोग गरिएको स्मरण गरे । ‘मलाई प्रस्ताव आउने वित्तिकै मैले ओके भने, भवन निर्माण पारदर्शी भएकोमा खुशी छु’–लामिछानेले भने ।थारु अनुसन्धान केन्द्रको भवन निर्माणका लागि लामिछाने नै अध्यक्ष रहेको खेमलाल/हरिकला लामिछाने प्रतिष्ठानले १२ लाख ३१ हजार १६१ रुपैयाँ सहयोग गरेको थियो । यस्तै निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रम अन्तरगत सांसद सुरेन्द्र पाण्डे र रुकमिणी चौधरीबाट १० लाख, साविक बछौली गाविस (रनपा वडा नं.५, ६ र ७) बाट ४ लाख, थारु साँस्कृतिक संग्रहालयको आन्तरिक स्रोतबाट ५ लाख, स्वंयमसेवी विद्यार्थी फ्रान्सबाट २ लाख र अन्य संघसंस्थाहरुबाट सहयोग प्राप्त भएको संग्रहालयका अध्यक्ष वीरेन्द्र महतोले जानकारी दिए ।कार्यक्रममा थारु साँस्कृतिक संग्रहालयले समाजसेवी लामिछानेलाई सम्मान पत्रले सम्मान गरेको थियो । उनलाई कार्यक्रमका सभापति रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सम्मान पत्र प्रदान गरेका थिए ।कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चितवनको पर्यटन थारु समुदायसंग जोडिएकोले थारु सँस्कृति जोगाउनका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको बताए । उनले छिट्टै थारु भिलेज निर्माणको तयारी गरिने बताए । उनले भने–‘चितवनको तराइ क्षेत्रको भूमीपुत्र थारु समुदाय र पहाडका चेपाङ समुदाय हाम्रा सम्पत्ति हुन्, कला संस्कृति संरक्षणका लागि हामी लागि परेका छौं ।’कार्यक्रममा बोल्दै थारु साँस्कृतिक संग्रहालयका अध्यक्ष वीरेन्द्र चौधरीले थारु समुदायको बारेमा चासो राख्ने र अनुसन्धान गर्नेका लागि अनुसन्धान केन्द्र सहयोगी बन्ने बताए । उनले भने–‘थारु समुदायका बारेमा अनुसन्धान गर्न कहाँ जाने भन्ने समस्या टरेको छ, खाना बस्नका लागि पनि कुनै समस्या छैन ।’अध्यक्ष महतोका अनुसार अनुसन्धान केन्द्रको भवन निर्माणका लागि ३३ लाख रुपैयाँ खर्च भएको छ । दुई तले भवनमा लाइबेरीसंगै आवासका व्यवस्था गरिएको छ । पहिलो तलामा अनुसन्धानका लागि काम हुनेछ भने दोस्रो तलामा आवासका साथै भान्छा कोठा रहेको छ । अहिले आवासको काम सकिए पनि लाइबेरीलगायत प्राविधिक पक्षका कार्यहरु बाँकी रहेको अध्यक्ष चौधरीले बताए । करिव चार वर्षअघि अनुसन्धान केन्द्रको भवन निर्माण सुरु गरिएको थियो । सो भवन गत महिना निर्माण सम्पन्न भएको थियो ।बछौलीमा २०६३ सालमा थारु साँस्कृतिक संग्रहालयको स्थापना भएको थियो । अहिले यो संग्रहालयमा अवलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटकहरु आउने गरेका छन् । स्थानीय थारु समुदाय, राष्ट्रिय प्रकृति संरक्षण कोष र थारु साँस्कृतिक संग्रहालय मिलेर अनुसन्धान केन्द्रको स्थापना गरेका हुन् ।कार्यक्रममा नेपाल जर्मन फ्रेण्डसिपका अध्यक्ष तथा एनआरएनएका पूर्व उपाध्यक्ष रामप्रताप थापा, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्र सौराहाका आयोजना प्रमुख रामकुमार अर्याल, रनपा ५ का वडाध्यक्ष कृष्ण महतो, थारु कल्याणकारिणी सभाकी पूर्व केन्द्रीय सदस्य, थारु संग्रहालयका सल्लाहकार सत्यनाराण चौधरी, संग्रहालयका संरक्षक बासु चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष बासुदेव ढुंगानालगायतले मन्तव्य व्यक्त गरेका थिए ।