देवचुली,
देवचुली नगरपालिकामा रहेको आभानी मिडियाद्धारा संचालित १०३.८ ह्याप्पी एफ.एमले ५ औँ वार्षिकोत्सवको अवसरमा ह्याप्पी दिपावली उत्सव २०७६ कार्यक्रम गर्ने भएको छ । एफ.एमले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको थियो । कार्यक्रमको बारेमा जानकारी गराउदैँ एफ.एमका प्रबन्धक निर्देशक दिपेश कडरियाले विगतका वर्षहरुमा भन्दा यस बर्ष कार्यक्रमलाई पृथक तरिकाले लैजाने बताउनुभयो ।
यस्तै ह्याप्पी दिपावली उत्सवमा देवचुली नगरपालिका भित्रको मौलीक संस्कृतीलाई अन्र्तराष्ट्रिय क्षेत्र सम्म फैलाउन भिजिट देवचुली प्रवर्धन कार्यक्रम, लोक संस्कृति जर्गेना गर्र्न तिहारमा खेलीने देउसी भैलो कार्यक्रमको संरक्षणका लागि देउसी भैलो प्रतियोगिता, लोप हुन लागेका पञ्चेबाजाको संरक्षणको लागि पञ्चे बाजा प्रतियोगिता, देवचुली नगरपालिका भित्र रहेका धार्मिक सांस्कृतिक एवम पर्यटकीय क्षेत्रको चिनारीका लागि स्कुल स्तरीय भिजिट देवचुली पब्लिक स्पीकर प्रतियोगीता, आमा समुहरुको सृकयता र सहभागीताका लागि डोरी तान्ने प्रतियोगिता, हिन्दु संस्कृतीको कर्मकाण्डमा अपरिहार्य शंखको संरक्षण र प्रवर्धनका लागि शंख फुक्ने प्रतियोगिता, पत्रकारहरुको सहभागिता र मनोरञ्जनको लागि पत्रकारहरु बिच चिया खाने प्रतियोगिता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको कडरियाले बताउनुभयो ।
ह्याप्पी दीपावली उत्सवमा सय भन्दा बढी व्यापारिक स्टल,जातीय पहिचानका स्टलका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगेतिक प्रस्तुति,बिभिन्न भाषाभाषीका पहिचान झल्कने नृत्य प्रस्तुति समेत रहनेछ । यसैगरी हास्यव्यंग्य,प्रहसन लगायत बाल उधान पनि रहनेछ । सोमबार एफ.एम.ले पहिलो चरणको पत्रकार सम्मेलन गरेको र दशैं लगतै पत्रकारहरुलाई देवचुली नगरपालिका भित्रका धार्मिक,ऐतिहासिक,साँस्कृतिक एवं पर्यटकीय क्षेत्रको प्रत्यक्ष अवलोकन गराई दोश्रो पत्रकार सम्मेलन गरिने प्रवन्ध निर्देशक कडरियाले बताउनुभयो ।
कार्यक्रम कार्तिक १ गते देखि ९ गते सम्म ह्याप्पी एफ. एम पछाडी साहारा पार्टी प्यालेससँगै सञ्चालन हुनेछ ।