देवचुली, माधब सुबेदी
जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरका बिभिन्न क्षेत्रमा जस्तै देवचुली नगरपालिकामा पनि मंगलबार अनुगमन गरेको छ । चाडपर्व नजिकीदै जिल्ला प्रशासन कार्यालयका टोलीहरुले देवचुली नगरपालिका, देवचुली उद्योग बाणिज्य संघ, दलदले बजार ब्यबस्थापन समिति, अस्थाई प्रहरी पोस्ट दलदले, दलदले बजारमा रहेको १०३.८ ह्याप्पी एफ एम लगाएत सरोकारवालाहरु संगको सहकार्यमा बजार अनुगमन गरेको थियो ।चाडपर्वमा मात्र नभई अरुबेला पनि अनुगमन गरेमा उपभोक्ताहरु मारमा नपर्ने र सबै सुखी तरिकाले बस्न पाउने छन् देवचुली जेसीजका अध्यक्ष बसन्त पोख्रेलले बताउनुभयो ।
दलदले चोकबाट सुरु गरिएको अनुगमनको क्रममा किराना पसलमा दैनिक उपभोकग्य बस्तुहरु,पान पसल, कस्मेटिक पसल, दुध डेरी, कुखुरा, बंगुर तथा खसी पसल, सुन चाँदी पसल, लगाएत करिब १० दर्जन पसलहरु अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयको परिक्षण टोलीले ह्याप्पी एफ.एम लाई जानकारी दिए ।कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई चाडपर्व भनिएको हो तर दशै, तिहार, छठ जस्ता चाडपर्वहरु नजिकीदै गर्दा चाडपर्वमा विशेष गरेर महँगी ह्वात्तै बढ्ने गरेको छ जसको सिकार आम उपभोक्ता नै हुने गरेका छन् भने प्रत्येक वर्ष चाडपर्वमा व्यापारीले चौथी हान्ने गर्छन्।
खेतको आलीदेखि थालीसम्म, नुनदेखि सुनसम्म, पानीदेखि तेलसम्म कुनै वस्तु तथा ठाउँ चोखो भेटिँदैन। प्रत्येक वर्ष उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन तर अहिले जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने थालेको छ ।‘चाडपर्वमा अत्यधिक महँगी हुने र उपभोक्ता मारमा पर्ने भएकाले पनि यस समयमा विशेष जोड दिएर अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टिकाराम वाग्लेले जानकारी दिए । उनले भने, अनुगमनका क्रममा भेटिएका कमीकमजोरी सुधार गर्न व्यवसायीलाई सचेत समेत गराएका छौं।
अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय परिक्षण टोलीले उपभोग्य वस्तुको मिति समाप्त भई सकेको सामग्रीहरुलाई नबेच्ने र बेचिएको पाईएमा जफत गरिने बताए । उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृत्ति आदि कारणले उपभोक्ता महँगीको मारमा परेका छन्। चाडपर्वको समयमा उपभोक्ताले दैनिक उपभोग्य सामान किन्दा कोही पनि नठगिऊन् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र पारिएको देवचुली नगरपालिका शाखा अधिकृत जिवलाल श्रेष्ठले जानकारी दिए ।
अनुगमनको क्रममा दर्ता विनाको पसललाई अविलम्ब दर्ता गर्न, मदिरा विक्री वितरणको अनुमति न लिएर पसलमा राखेकोलाई तत्काल हटाउन, होटलमा वालबालिका प्रयोग नगर्न समेत सचेत गराइएको छ ।