देवचुली,
संविधान तथा राष्ट्रिय दिवस २०७६ देवचुली नगरपालिकाले प्रभातफेरी तथा नगर सरसफाई कार्यक्रम गरि मनाएको छ । शुक्रबार चौथो संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइरहदाँ देवचुली नगरपालिकाले पनि एक कार्यक्रम गरि मनाएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा देवचुली नगरपालिकामा राष्ट्रिय संविधान दिवस मनाइएको हो ।
कार्यक्रममा जिल्ला फुटबल संघ कास्कीले संचालन गरेको गण्डकी प्रदेश अन्तर्गतको अन्तर जिल्ला क्वीक्स कप छात्रा फुटवल खेल प्रतियोगितामा नवलपुर जिल्लाबाट प्रतिनिधित्व गरेको बरचुली माध्यमिक विधालयका प्रथम हुने किशोरी टिमलाई सम्मान गरिएको थियो भने देवचुली नगरपालिका हुदैँ दलदले चोक सम्म प्रभातफेरी तथा नगर सरसफाई कार्यक्रम गरि दलदले चोकमा कोणसभा गरि मनाइएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्षता रहनुभएका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले संविधान दिवस मनाइरहदाँ सबै संविधान भन्दा माथि कोही पनि नभएको र संविधान अनुसार हामी सबै अगाडि बढ्नुपर्ने र जनताले संविधानलाई संरक्षण रुपले लैजानुपर्ने बताउनुभएको थियो ।
यस्तै नगर उपप्रमुख पार्वता तिवारीले आज संविधान बनेको खुसीको दिन भएकाले संविधान दिवसलाई दिपावली र कार्यक्रम गरि मनाउनुपर्ने बताउनुभएको थियो । देवचुली नगरपालिकामा पनि बाटोघाटो, बिजुली, पानी जस्ता धेरै कुराको विकास भएको र जनताले नकारात्मक भन्दा सकारात्मक रुपले अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका भित्र भएका वडाका वडा अध्यक्ष, सुरक्षाकर्मी, प्रगतीनगर खानपानीका अध्यक्ष, देवचुली उधोग वाणिज्य संघका प्रतिनिधि, देवचुली नगरपालिकाका कर्मचारी, दलदले बजार व्यबस्थापनका प्रतिनिधि, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, समाजसेवी, वडाबासीहरु लगायतको उपस्थिती रहेको थियो ।
यस्तै देवचुली नगरपालिका वडा नं १३ ले ९आज० बेलुका दलदले चोकमा दिपावली गरि मनाउने भएको वडा अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीले बताउनुभयो ।
संविधान दिवस मनाइरहदाँ देवचुली नगरपालिका वडा नं ८ ले पनि वडावरिपरि सरसफाई कार्यक्रम गरि मनाएको वडा अध्यक्ष चन्द्र बहादुर सिंजालीले बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधी, वडावासी गरि करिब १०० जनाको उपस्थिती रहेको थियो ।