गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले तालिम सञ्चालनमा हुने ठेक्कापट्टा प्रचलनको अन्त्य गर्ने बताउनुभएको छ | मंगलबार देवचुलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सायना प्रेसको उद्घाटन गर्न आउनुभएका मन्त्री पुनले प्रदेश सरकारबाट दिईने बिभिन्न तालिममा ठेक्कापट्टा हुने गरेको भन्दै त्यसको अन्त्य गर्ने बताउनुभयो | मन्त्री पुनले भन्नुभयो-बिभिन्न तालिममा सञ्चालनका नाममा आवश्यकता नै नभएका व्यक्तिले तालिम लिने र भत्ता पचाउने गरेको कुरा आँफुलाई जानकारी भएको र त्यस्तो प्रवृतिको अन्त्य गरेरै छोड्छु |
उहाँले सायना प्रेसको उद्घाटन कार्यक्रममा बोल्दै भन्नुभयो गण्डकी प्रदेश सरकारले मातृ शिशु मृत्युदरलाई घटाउन "सुत्केरीको घरमा स्वास्थ्यकर्मी" कार्यक्रम सञ्चालन गरेको र अब छिट्टै नवलपुरमा पनि सो कार्यक्रम सञ्चालन हुनेछ | दुम्कौलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक पूर्वाधार र सेवा विस्तारका लागी संघीय सरकारसँग पहल गर्ने मन्त्री पुनले बताउनुभयो |
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सायना प्रेसको शुभारम्भ
दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा परिवार नियोजनको अस्थाई साधन "सायना प्रेस"को शुभारम्भ गरिएको छ | मंगलबार एक कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सो सेवाको शुभारम्भ गर्नुभएको हो | सायना प्रेस महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन हो | देशभर परिवार नियोजन प्रयोग गर्ने महिलाहरु गर्भनिरोधक सुई (२०.७%), खाने चक्की(१०.५%), कण्डम(९.९%), कपर-टी(७.८%) र इम्प्लान्ट(३.३%) रहेको छ | सायना प्रेस परिवार नियोजनका लागी मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधीको मात्रा ३० प्रतिशत कम हुन्छ | सायना प्रेसलाई विश्वका ४० भन्दा बढी राष्ट्रले प्रयोगमा ल्याईसकेका छन् भने नेपालमा यसको प्रयोग अध्ययनको रुपमा नवलपुर र सिन्धुली जिल्लामा आजबाट सुरु गरिएको छ |
सायना प्रेस शुभराम्भ कार्यक्रमको अध्यक्षता दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष गोपालराज शर्मा लम्सालले गर्नुभएको थियो भने प्रमुख आथित्यता मन्त्री पुनले गर्नुभएको थियो | कार्यक्रममा विशिष्ट अतिथिका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.पुष्पा चौधरी,परिवार नियोजन महाशाखाका निर्देशक डा.भीमसिंह तिन्करी,गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदविन्दु शर्मा,प्रदेश सभासद ओमकला गौतम,देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो भने देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, स्वास्थ्य शाखा प्रमुख शिव पराजुली, वडाध्यक्षहरु लगायत बिभिन्न स्वास्थ्य केन्द्रका प्रमुख,प्रतिनिधि एवं स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो |