बुटवल, जेठ ०६
देवदहलाई बुद्ध सहरका रूपमा विकास गर्न थालिएको छ । प्राचीन कोलीय राज्यको झल्को दिने गरी संरचना निर्माण गरिंदैछ । देवदह नगरपालिकाले प्राचीन बौद्ध सभ्यता झल्काउने पार्क निर्माण गर्दैछ । त्यसमा ललितकलाका विज्ञलाई राखेर बुद्धकालीन सभ्यताको मूर्ति र चित्र बनाउने योजना छ ।'देवदह आउनेलाई बुद्धमावली आएको अनुभव होस्,' नगरप्रमुख हीराबहादुर खत्रीले भने, 'त्यसैले हरेक पार्क र चोकमा बुद्ध, बुद्धकी आमा मायादेवी, पत्नी यशोधरा र मावली कोलीय राज्यका सभ्यता देखिने संरचना बनाउँदै छौं ।' सरकारले देवदहलाई एक सय पर्यटकीय गन्तव्यमा समेटेको छ । नगरभित्र एक दर्जनभन्दा बढी पुरातात्त्विक स्थान छन् । पाकरी वृक्ष, कन्यामाई, बैरीमाई, भवानीपुर, खयरडाँडा, प्राचीन रोहिणी नदी, माथागढी, देवी दमार, कुवरवर्तीलगायतका क्षेत्र देवदहमा भ्रमणका प्रमुख गन्तव्य हुन् । ती गन्तव्यमा चालु आर्थिक वर्षमै बुद्धकालीन सभ्यता देखिने संरचना बनाइनेछ । देवदह-७, शीतलनगरमा यशोधरा पार्क नै निर्माण हुँदैछ । त्यसमा यशोधराका जीवनका हरेक अवस्थालाई संरचनामार्फत देखाइने नगरप्रमुख खत्रीले बताए ।
बुद्धकालीन सभ्यता देखाएर लुम्बिनी आउने पर्यटकलाई मावली क्षेत्रमा ल्याउने योजना छ । पर्यटकलाई बास बसाल्न शरणटाँडी, शिशुपुर र मुढावासमा होमस्टे सञ्चालनको तयारी छ । स्थानीय बासिन्दा तथा संघसंस्थाले सघाएका छन् । बुद्ध सामुदायिक वनले माथागढीमा गौतम बुद्ध राष्ट्रिय पार्क बनाउन आठ हेक्टर जग्गा छुटयाएको छ । त्यसमा बुद्धका हरेक जीवनकाललाई चित्रमा उतारिनेछ । जग्गा र काठ वनले उपलब्ध गराउनेछ । मूर्ति बनाउने काममा ललितकला प्रतिष्ठानले सघाउनेछ ।बुद्धकालीन सभ्यताको विकासमा स्थानीय अगुवाहरूले डि्रम देवदह युनिटी फर चेन्जमार्फत सहकार्य गरेका छन् । सामाजिक अभियन्ता सिद्धिचरण भट्टराईका अनुसार यहाँका पार्कलाई बौद्ध सभ्यतासँग जोडेर अभियान थालिएको छ । 'बौद्ध दर्शनको उपयोग गर्ने र यहाँ रहेका धार्मिक सम्प्रदाय तथा स्थलहरूको संरक्षण र संवर्द्धन गर्ने काम अगाडि बढेको छ,' उनले भने, 'त्यसलाई मूर्त रूप दिन सरकारी तथा नागरिक दुवै पक्ष जुटेका छौं ।'लुम्बिनी विकास कोषको अगुवाइमा देवदहको भवानीपुरमा सुविधासम्पन्न संग्रहालयसहितको मन्दिर अर्थात् गोल्डेन टेम्पल अफ लड बुद्ध बनाउन थालिएको छ । यसको छेउमा सुविधा सम्पन्न पार्क बन्दै छ । शक्तिपीठका रूपमा रहेका कन्यामाई र बैरीमाईको पुरातात्त्विक उत्खननलाई पूरा गर्ने योजना अगाडि बढेको छ । कोलीय राज्य अर्थात् बुद्ध मावलीहरूको दरबार भनिने खयरडाँडा दरबार उत्खनन र संरक्षण गर्न योजना परेको छ । अमृतकुण्ड दहको संरक्षणका लागि योजना बनेको छ ।
देवदहको शीतलनगरमा रहेको पाकरी वृक्ष आसपासमा बौद्ध सम्पदा निर्माण हुनेछन् । हात्तीको सुँढ, बुद्ध मूर्ति, शिवलगायतका विभिन्न आकृति रहेको यसको ८२ फिट गोलाइ र ९५ फिट उचाइ छ । पाकरीमा काग, गिद्धलगायतका मांसाहारी चरा नबस्ने र चराले गुँड नलगाउने बताइन्छ । संरक्षण अन्तर्गत नगरपालिकाले यो वृक्षमा अहिले तारबार गरेको छ । त्यहाँ आउने पर्यटकलाई महत्त्व बताउन कर्मचारीको समेत व्यवस्था गरिएको छ ।