देवचुली,
फूल सबैलाई मनपर्ने चिज हो त्यसैले त सबैको घर वरिपरि फूलहरु फूल्ने गर्छ । अझ भन्ने हो भने नजिकदैँ गरेको विजयदशमी , शुभ दिपावलीमा सयपत्री फूलको बढि महत्व भएकाले सबैको घर आँगनमा सयपत्री फूलहरु फुलोस भन्ने उद्धेश्यले बेटर नवलपरासीका संयोजक युवा अभियान्ता विश्वास लामिछानेले सयपत्री फूलको बिरुवा उमार्ने, सयपत्री फूल फुलाउने तर्फ लागिरहेका छन् । स्वदेशमा रोजगारनै छैन भनेर विदेशीने युवाहरुका लागि एउटा उद्धारणीय पात्र बनेका छन् लामिछाने । युवाहरुलाई कृषि क्षेत्रमा लाग्नुपर्छ भन्ने उद्धेश्यले पनि फूल व्यवसाय तर्फ लागेको उनको भनाईछ । फूलहरु मध्य सयपत्री फूल मानिसहरुले अत्याधिक रुपमा बढि मन पराउने पनि गर्दछन् । सभा समारोहमा सजाउन, विवाह, बर्तबन्ध जस्ता विभिन्न कार्यक्रममा सयपत्री फूल नै उत्तम पनि मानिन्छ ।
देवचुली ५ कदमपुर निवासी र बेटर नवलपरासीका संयोजक युवा अभियान्ता भनेर पनि चिन्ने गरिन्छ विश्वास लामिछानेलाई । युवा, बालबालिकाको क्षेत्रमा तल्लिन भएर काम गर्ने युवा अभियान्ता मात्र नभई उनी एक मेहेनती कृषक पनि हुन भन्ने कुरा धेरैलाई थाहा नभएको हुन सक्छ ।
देवचुली २ केउरेनी सि.जी शास्वतधाम नजिकै आफ्नै ५ कठ्ठा जग्गामा ३ महिना देखि करिब ५ हजार सयपत्री फूलका बिरुवाहरु उत्पादन गरेका छन् । घरमै उत्पादन भएको प्राङगारिक गोठ मोलबाट सयपत्री फूलहरु उत्पादन गर्दै आएका छन् ।
पछिल्लो समय तिहार तथा समारोहमा मानिसहरुको गलामा सयपत्री फूलको माला भन्दा बजारीया फूलको माला बढि उपयोग भएको पाईन्छ । यदि सयपत्री फूलकै उपयोग भए पनि भारतमा निर्भर हुनु पर्दा आफ्नै घरवरिपरि भएको बारी बाँझो राख्नु भन्दा फूल व्यवसाय गर्ने सोचले सयपत्री फूल व्यवसायीमा आकर्षित भएको लामिछाने बताउछन् ।
बेटर समाज निर्माणका लागि पहिले आफु लागि परे समाज परिवर्तन गर्न सम्भव हुने उनी बताउछन् । सधैं बेरोजगार छु भन्दै अरुको भर पर्ने युवाहरु हरेक क्षेत्रमा जागर चलाऊने हो भने बिदेशी बस्तुको आयात घटाऊन र स्वदेशी बस्तुको उपभोग बढाउन सक्षम हुने दाबी गरेका छन् ।
सयपत्री फूल प्राय पारिलो घाम लाग्ने ठाउमा राम्रो संग फुल्ने गर्छ । तर उच्च तापक्रम सहन सक्ने हुदैन तसर्थ नेपालमा गर्मि सकिने संग संगै यसको खेति पनि फस्टाउँदै गएको देखिन्छ । पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने ठाउँमा यो राम्रो संग फुल्ने गरेको पाईन्छ ।
५० हजार लागतमा सुरुवात गरेको सयपत्री फूल व्यवसायले भविष्यमा राम्रै हुने आशा समेत गरेका छन् । लामिछानेको यो पहिलो अनुभव भएकाले पहिलो चरणमा जे जस्तो भए पनि दोस्रो चरणको लागि आफुलाई थप सहयोग हुने बताउछन् । यसको माग पनि निकै रहेकोले यो खेती सफल हुनेमा उनि विश्वस्त छन । गरे जे पनि हुने बताउदै उनले खाडी मुलुकमा जानु भन्दा यस्तै पेशामा लाग्न अरुलाइ सल्लाह समेत दिन्छन् । जे काम गर्दा पनि घर परिवारको साथ र सहयोग भयो भने हरेक कुरामा सफलता हासिल गर्न सकिने भएकाले आफुलाई पनि परिवारको साथले नै यहाँ सम्म आउन प्रेरित बनाएको बताउछन् ।
यस्ता प्रकारका साना –साना व्यवसायमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको उनले बताउछन । फूल किन्ने व्यापारीहरु बारीमै आउँने र सयपत्री फूलको बेर्ना रोपेको एक महिनापछि नै फूल्न थाल्ने र अहिले फूलको बिरुवा धमाधम बिक्री हुन थालेको विश्वासले बताए । तिहारका लागि विरुवाहरु फूल्न तयार भइरहेको साथै अन्य खेतीभन्दा यो खेतीमा काम गर्न सजिलो र उत्पादन खर्च समेत कम हुने र बातावरण मैत्री पेशा भएकोले यो पवित्र काममा सन्तुष्टी भएको बताउँछन् ।
आफु बेटर नवलपरासीको संयोजक भएका कारणले पनि अबको योजना भनेको बेटर नवलपुर बनाउन हरेक युवाहरुलाई समेटेर कृषि पेशा तर्फ आर्कषित गराउने रहेको उनी बताउछन् ।
नेपाल एक कृषि प्रदान देश भनेर भन्ने गरे पनि कतिपय युवाहरुलाई कृषिमा आत्मनिर्भर हुन नसकेकाले धेरैले आफ्नो बारी बाँझो राख्ने, किनेर खाने गरेकाले स्थानीय तह बाट र सरकारले युवाहरुलाई समेटी कृषि भनेको के हो , कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराए युवाहरु कृषि पेशा तर्फ आर्कषित हुने लामिछानेले बताए ।