गैँडाकोट,
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण आजबाट सुरु भएको छ । वीपी कोइरालाको १०६ औं जन्म जयन्तिको अवसर पारेर “हिमाल पहाड तराई मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान” सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिनेछ ।जागरण अभियानको अन्तिम दिन असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन हुनेछ । प्रदर्शनलाई बढ्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या अलोकतान्त्रिक विधेयकविरुद्ध केन्द्रीत गरिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । दोस्रो चरणको अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य निर्धारण गरिएको प्रवक्ता शर्माको भनाइ छ । जागरण अभियानको दोस्रो चरणमा पूर्वघोषणा अनुरूप ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रीत अभियान सम्पन्न गरिनेछन् ।
३५ हजार बिरूवा रोपिदै
बिपी कोइरालाको १०६औँ जन्म जयन्तीको प्रतीकस्वरूप १०६ विरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियानको देशव्यापीरूपमा उद्घाटन गरिदैछ । यसरी एकै दिन ३४ हजार ९८० बिरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पु¥याइनेछ । यता नवलपुर १(क) अन्तर्गत मंगलबार विहान गैँडाकोटबाट जागरण अभियानको शुभारम्भ गर्न लागिएको छ । काँग्रेसका केन्द्रीय प्रतिनिधि शंकर पाण्डेले कार्यक्रमको समुद्घाटन गर्नुहुनेछ । गैँडाकोट ७ नारायणी माध्यामिक विद्यालयको प्रागंणमा १०६ वटा विरुवा रोपिने नेपाली काँग्रेस नवलपुर क्षेत्र नं. १ प्रदेश समिति (क) का सचिव विष्णु कंडेलले बताउनुभयो । कंडेलका अनुसार प्रदेश समितिले जागरण अभियानका लागि कार्यक्रम तालिका बनाइसकेको बताउनुभयो । प्रदेश समितिले भाद्र २५ र २६ गते द्धन्दपिडितको घरमा भेटघाट गर्ने, २७ गते डाँडाझेरीमा छलफल, २८ गते कोटथर, २९ गते ढोडेनी, ३० गते दमार, ३१ ग्ते भोक्रोफाँटमा भेटघाट तथा छलफलको कार्यक्रम बनाएको सचिव कंडेलले बताउनुभयो । यसैगरी प्रदेश समितिले असोज १ गते मुकुन्दपुरमा क्षेत्रीय प्रतिनिधिहरुसंग छलफलको कार्यक्रम रहेको छ । यस कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री डा. शंशाक कोइराला र नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा नवलपुर १(क) का सांसद कृष्णचन्द्र नेपालीको आतिथ्यता रहने जनाइएको छ । यसैगरी असोज २ गते मुकुन्दपुरमा भातृसंस्था र शुभेच्छुक संस्थाहरुसंगको भेटघाट, असोज ३ गते संविधान दिवशको दिन रजहर चोक, अमरापुरी चोक, हर्कपुर, काँग्रेस चोक, डाँडाझेरी, कोटथरमा दीपावली प्रज्वलनको कार्यक्रम रहेको प्रदेश समिति सचिव कंडेलले बताउनुभयो । असोज ४ गते विपी स्मृति भवन गैँडाकोटमा युवा तथा नेविसंघका प्रतिनिधिहरुबीच छलफल रहेको छ । असोज ५ गते रजहरमा केन्द्रीय प्रतिनिधि र स्थानीयहरुबीच छलफलको कार्यतालिका रहेको छ । असोज ६ गते आमसभा प्रचारप्रसारको तयारी एवं असोज ७ गते कावासोतीमा बृहत आमसभाको कार्यक्रम रहेको सचिव कंडेलले जानकारी दिनुभयो । केन्द्रीय तहबाट अभियान क्रममा केवल एउटा मात्रै सभा निर्धारित गरिएको छ । असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन गरिने तय भएको जनाइएको छ । त्यसबाहेक अभियानमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । अभियानका क्रममा बोक्सी प्रथा, दाइजोको निहुँमा भएका उत्पीडन, जातीय छुवाछुत र विभेद्, बाल श्रम शोषण, घरेलु हिंसा, चेलिबेटी बेचबिखन, छाउपडीलगायत अन्य विसंगतिहरूका विरुद्ध आवश्यक चेतना अभिवृद्धिमा पार्टीको सहभागिता रहने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै अभियान क्रममा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा युवा केन्द्रीत विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् । ३३० प्रदेशसभा क्षेत्रमा औसत ३०० युवाका बीचमा बिपीको विचार र संस्कारलाई कार्यक्रम क्रममा सम्प्रेषण गर्दा समग्रमा एक लाख युवासँग संवाद र सम्प्रेषण १५ दिनको अवधिमा हुने जानकारी गराउनुभयो । जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते नेपालको संविधान निर्माणमा काँग्रेसले गरेको नेतृत्व, संविधानका विशेषता र आजको दायित्व विषयका कार्यक्रम (अन्तरक्रिया या विचार गोष्ठी प्रदेशसभा कार्यसमितिको आयोजना गर्ने, साँझ सबै गाउँ–नगरका निश्चित चोक बजारमा दीप प्रज्वलन गरिनेछ भने जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी भ्रष्टाचार (वाइडबडी, न्यारोबडी प्रकरणलगायत), बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने नेपाली काँग्रेसले जनाएको छ ।