देवचुली
मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २७ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सोमबार दलदलेको साहारा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी संस्थाले वार्षिकोत्सव सम्पन्न गरेको हो। वार्षिकोत्सव समारोहको अध्यक्षता संस्थाका अध्यक्ष तुलमणि पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले देवचुली नगरपालिका भित्र भएका केही सहकारीहरुमा पनि समस्या रहेको नगरपालिका समक्ष गुनासो आउने गरेको बताउनुभयो ।
उहाँले नगर क्षेत्रभित्र रहेका सहकारीहरूको खराब नियतका कारण नभई अन्य प्राविधिक कारणले अवस्था धरायसी रहेको बताउनुभयो। साथै उहाँले मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यको हितमा काम गरेको बताउनु हुँदै यस साकोसका बारेमा चिन्तित हुनु नपर्ने बताउनुभयो।

२७ औं वार्षिकोत्सव कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालका सञ्चालक सदस्य होमनाथ जैसी, नेफ्स्कुनका लेखा संयोजक इन्द्रराज ज्योति पौडेल, संस्थाका निवर्तमान अध्यक्ष मानसिंह खत्री, सल्लाहकार सदस्य तथा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरिया, निवर्तमान सल्लाहकार रामप्रसाद मरासिनी, देवचुली नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष एकदेव पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड नवलपुरका सहसचिव नारायणप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेयर सदस्यको हित र उद्यमशीलतामा प्रशंसा योग्य काम गरेको बताउनुभयो ।

साथै शुभकामना राख्नुहुनेहरुले मध्य नेपाल साकोसको वित्तीय पारदर्शिताको समेत प्रशंसा गर्नुभयो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै संस्थाको वर्तमान अवस्थाका बारेमा चित्रण गर्नुभएको थियो।

मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष प्रेमा खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका सञ्चालक समितिका सचिव डिलाराम पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा मध्य नेपाल साकोसका विभिन्न सेवा केन्द्रका प्रमुख, सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक, सल्लाहकारहरू, विभिन्न जनप्रतिनिधि लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
