देवचुली
प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गरि निर्वाचित भएकाहरूलाई नेपाली काँग्रेस नगर कार्यसमितिले आज एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरेको छ।
कार्यक्रममा बिजयी हुनुभएका पदाधिकारीहरूले आफ्नो भनाइ राख्दै संस्थाको सेवा, विकास र सुधारमा विशेष ध्यान दिने प्रतिबद्धता जनाउनुभयो। प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नव निर्वाचित अध्यक्ष डिल्लिराम कडरियाले भन्नुभयो, "म संस्थाको दिगो विकासका लागि प्रतिवद्ध छु। जनतालाई सुरक्षित, गुणस्तरीय र स्वच्छ खानेपानीको सेवा सुनिश्चित गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ।" उहाँहरूले तत्काल गरिनु पर्ने महत्वपूर्ण कामको रूपमा मुहान संरक्षण र खोलाको तटबन्ध गर्ने विषयलाई प्राथमिकता राखेर काम गर्नुपर्ने बताउनु भयो।

सो कार्य अत्यावश्यक भएकाले केन्द्र सरकारबाट योजना ल्याउन सांसद डा. शशाङ्क कोइराला समक्ष माग समेत राख्नुभयो। देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बलराज बि.क.ले सोही अवसरमा भन्नुभयो , "देवचुलीका नागरिकहरूलाई सहज र विश्वसनीय खानेपानी सेवा उपलब्ध गराउनु हाम्रो संस्थाको प्रमुख लक्ष्य हो।
सेवा प्रवाहमा पारदर्शिता र दिगोपनालाई विशेष ध्यान दिनेछौं।" कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनले कार्यक्रमको राजनीतिक सन्देशबारे बोल्ने क्रममा प्रगतिनगर र देवचुली खानेपानी संस्थामा हामीले विपक्षीको लालकिल्ला तोड्न सफल बहेको र देवचुलीमा काङ्ग्रेस सङ्गठित भएको उदाहरण प्रस्तुत गरेको बताउनुहुँदै यो सकारात्मक सन्देश हरेक पालिकामा पुर्याउन आफ्ना सबै कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

देवचुली पालिकामा काङ्ग्रेस फेरि जुर्मुराएको छ, एक पछि अर्को ठूलो खानेपानी संस्थामा हाम्रो जित भएको छ, काङ्ग्रेसका साथीहरू सामाजिक काममा अग्रसर छन् भन्ने विषयलाई मनन गरि जनताको सेवामा तल्लिन हुनको लागी नेपाली काँग्रेस नवलपुरका सभापति महेन्द्र ध्वज जिसीले समेत सुझाव दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि सांसद डा. शशाङ्क कोइरालाले नेपालकै उत्कृष्ट खानेपानी जस्तो संस्थामा नेतृत्व लिनु नै देवचुली काङ्ग्रेसको गौरवको विषय भएको उल्लेख गर्दै मानिसको दैनिकी सँग जोडिएको खानेपानी जस्तो गरिमामय संस्थालाई उत्कृष्ट बनाउन आफूले गर्नुपर्ने आवश्यक सहयोगका लागि प्रतिवद्ध रहेको जनाउनुभयो। नेपाली काँग्रेस संघीय सांसद प्रा.डा. शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस देवचुली नगरसमितिको कार्यबाहक सभापति हरिभक्त भट्टराईको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न तहका नेताहरू, पदाधिकारी तथा भातृ संगठनका प्रमुख लगायत कार्यकर्ता हरुको उपस्थिति रहेको थियो।