नवलपुर
इसाई समुदायहरूको मुख्य चाड मध्येको एक इस्टर सन्डे भव्यताका साथ मनाइएको छ । नवलपुर संयुक्त चर्च समुदायको आयोजनामा आइतबार दलदलेको साहारा पार्टी प्यालेसमा इस्टर सन्डे मनाइएको हो।

कार्यक्रमको अध्यक्षता इस्टर सन्डे कार्यक्रमका संयोजक दूतबहादुर आलेले गर्नुभएको थियो। कार्यक्रममा नवलपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्राध्यापक डा। शशाङ्क कोइराला प्रमुख अतिथिका रुपमा रहनुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोइरालाले धर्म स्वतन्त्र हुने बताउँदै सबै धर्मप्रति आफ्नो सदभाव रहेको धारणा व्यक्त गर्नुभयो। सो अवसरमा उहाँले आफू नास्तिक नभई धर्मप्रति आस्था भएको व्यक्ति भएको बताउनुभयो।

कार्यक्रममा क्रिश्चियन नागरिक सङ्घ नवलपुरका अध्यक्ष प्रेम सोमै, इसाई समाज नवलपुरका अध्यक्ष भोजबहादुर थनेत, एनसीएपएन गण्डकी प्रदेशका अध्यक्ष पास्टर नवराज पाण्डे क्षेत्री, दलित जागरण अभियान नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर बिक, दलित जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष दधिराम परियारले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साथै देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचाल, लगायतले इस्टर सन्डेको शुभकामना व्यक्त गर्नुहुँदै शुभेच्छाका शब्दहरू राख्नुभएको थियो।

सो अवसरमा पास्टर प्रेम थापाले येशू क्रिस्ट सम्बन्धी शास्त्र प्रवचन समेत गर्नुभएको थियो। पास्टर भोलानाथ न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण इसाई समाज नवलपुरका सचिव तथा नवलपुर संयुक्त चर्च समुदायका सचिव इन्द्रबहादुर बयम्बु मगरले गर्नुभएको थियो।
