देवचुली, बैशाख–३
देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ। संस्थाको नवौं अधिवेशन अन्तर्गतको निर्वाचनबाट निर्वाचित भएका कार्यसमिति तथा लेखा समितिले आफ्नो पदभार ग्रहण गरेका हुन्। निर्वाचन समितिको आयोजनामा बुधबार देवचुली नगरपालिकाको सभाहलमा आयोजित बधाई तथा सपथ ग्रहण कार्यक्रमको अध्यक्षता निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख तथा निर्वाचन सुपरिवेक्षक हरिप्रसाद न्यौपाने प्रमुख अतिथिका रुपमा रहनुभएको थियो। नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिलाई निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहणपछि नवनिर्वाचितहरुलाई टिका लगाई प्रमाणपत्र वितरण गरिएको थियो । शपथ ग्रहण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष खिमानन्द भुसाल, देवचुली नगरपालिकाका संस्थापक नगर प्रमुख पूर्ण कुमार श्रेष्ठ, निर्वाचनमा अध्यक्षका प्रत्याशीद्वय दुर्गादेवी बिष्ट र इन्द्रमणी भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियो।



कार्यक्रममा आफ्ना मन्तव्य राख्नुहुँदै नवनिर्वाचित अध्यक्ष डिल्लीराम कडरियाले खानेपानी संस्थाको नेतृत्व गर्दा उपभोक्ताको हितमा रहेर सधैं स्वच्छ र सफा पानी उपभोक्तालाई खुवाउनु नै मुख्य उद्देश्य भएको बताउनुभयो। उहाँले हरेक संघसंस्थामा नेतृत्व गर्दा आर्थिक पारदर्शिता मुख्य हुने भएको बताउनुहुँदै आफ्नो कार्यकालमा पारदर्शी ढंगले काम गर्ने बताउनुभयो । साथै उहाँले व्यक्ति भन्दा संस्था हावी हुनुपर्ने बताउँदै आँफूहरूको कार्यकाल सम्झनयोग्य बनाउने बताउनुभयो । कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरु, अध्यक्षका प्रत्याशी सुदिप न्यौपाने, विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सपथ ग्रहण कार्यक्रमको सहजीकरण निर्वाचन समितिका सदस्य शिव सापकोटाले गर्नुभएको थियो ।
डिल्लीराम कडरिया, अध्यक्ष
विष्णुप्रसाद न्यौपाने, सचिव
जीवन श्रेष्ठ, लेखा संयोजक
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं अधिवेशन अन्तर्गतको निर्वाचनबाट अध्यक्षमा डिल्लीराम कडरिया, सचिवमा विष्णुप्रसाद न्यौपाने, लेखा संयोजकमा जीवन श्रेष्ठ, लेखा समिति सदस्यमा शिवलाल पराजुली र कमला भट्टराई शर्मा निर्वाचित हुनुभएको थियो। यसैगरी ब्लक सदस्यहरूमा ब्लक नम्बर १ बाट कृष्णबहादुर थापा, ब्लक नम्बर २ बाट राधिका लम्साल, ब्लक नम्बर ३ बाट नवराज तिवारी, ब्लक नम्बर ४ बाट मोतिलाल अधिकारी, ब्लक नम्बर ५ बाट रिखीमाया सिंजाली, ब्लक नं ६ बाट टिकाबहादुर आले, ब्लक नम्बर ७ बाट इन्द्रमणी गौतम, ब्लक नम्बर ८ बाट बिमला अधिकारी र ब्लक नम्बर ९ बाट बुद्धि बहादुर लुंगेली निर्वाचित हुनुभएको थियो ।
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष डिल्लीराम कडरियाले उपभोक्ताको धारा नामसारी गर्ने कागजातमा दस्तखत गरी कार्य शुभारम्भ गर्नुभएको थियो।
खानेपानी संस्थाको सवारी साधनमा लेखियो नाम

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दुईवटा सवारी साधनमा नयाँ कार्यसमितिले पदभार ग्रहण गरेकै दिन नाम लेखिएको छ । संस्थाको स्वामित्वमा रहेको गण्डकी प्रदेश ०४ ००१ च ००३८ र बा २१ च २४९ नम्बरको गाडीमा नाम लेखिएको हो । संस्थाको सवारी साधनमा संस्थाको नाम नहुँदा पहिचान नहुने भन्दै सवारी साधनमा नाम लेखिएको नवनिर्वाचित अध्यक्ष डिल्लीराम कडरियाले जानकारी दिनुभयो ।