तिम्रा यादहरु
म दुई दिनको लागि फूलेको
फूललाई हेरेर मुस्कुराउथेँ ,
तिमी सदियौ देखि उदाइरहेको जूनलाई हेरेर पनि
कहिल्यै मुस्कुराउन जानिनौ,,
त्यसैले होला, तिम्रा यादहरु पनि
कहिल्यै मुस्कुराउनै जानेनन्,,
प्रेम , प्रेम त तिमीसित भएको थियो
तिम्रा यादहरुसित कहिल्यै भएनन्
त्यसैले होला , तिमी पनि कहिल्यै आइनौ र
तिम्रा यादहरु पनि कहिल्यै गएनन्,,
कहिल्यै गएनन् तिम्रा यादहरु मेरो लागि
पट्यारलाग्दा नि कहिल्यै भएनन् र म
तिम्रो लागि पत्यारलाग्दो नि कहिल्यै हुन सकिन
र त जीन्दगी हेर त आज,
कंकाल जस्तै कंगाल भएको छ ,
तिमीले छोडेदेखि......
हो तिमीले छोडेदेखि प्रिया,
गुुज्रिदै गरेको यो जीन्दगी र
उध्रिदै गरेका तिम्रा अम्ल रुपी यादहरु
दिनहूँ मेरो मनको क्षारसंग यस्तरी
प्रतिक्रिया गर्ने गर्छन् र फलस्वरुप
एक चिम्टी नुन र पानी बग्ने गरेका छन्
यी आँखाको बाटो भएर ,,
नत्र त आशुँहरु यतिसम्म नुनिलो हुने
थिएनन् होला है ...........
अचेल पनि प्रिया,
यो फोक्सोको कुनाबाट
निस्किएझैँ थुनाबाट
जब एक हुल धुवाँका मुस्लाहरु
आकाशतिर दौडन्छन्
मैले थेग्न नसकेका तिम्रा यादहरु
ति संगसंगै पौडन्छन् अनि
यता उता रुमलिँदै साना साना लहरहरु
हाम्रा अधुरा रहरहरु
२।४ मिटरको छोटो यात्रा पछि
कुनै महोत्सवको धुमिल जात्रा जस्तै
ठोकिन पुग्छन् ,
मेरा कोठाका दलिनहरुमा छानाहरुमा,
अनि पोखिन पुग्छन् मेरा यी
डायरीका पानाहरुमा,
कुनै थोक्रो व्लाक एण्ड ह्वाइट
टेलिभिजनको पर्दाजस्तै
कसैले क्यानभासमा जथाभावी रंग छर्दाजस्तै
अस्त व्यस्त तिम्रा कमशल यादहरु
जसलाई आचकल मैले
कविताको नाम दिने गरेको छु ......
©“ए.पी.” सुमन