नवलपुर जिल्लाका संघीय सांसद प्रा.डा. शशांक कोइरालाको क्षेत्रीय सचिवालय प्रमुखमा नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य नारायण पौडेल नियुक्त भएका छन्।

नेपाली कांग्रेस देवचुली पार्टी कार्यालयबाट सञ्चालन हुने क्षेत्रीय सचिवालयको औपचारिक सुरुवात सोमबार गरिएको छ। उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस देवचुली नगर सभापति डिल्लीराम कडरिया, पूर्व नगर सभापति तथा देवचुली नगरपालिकाका संस्थापक नगर प्रमुख पूर्णकुमार श्रेष्ठ र क्षेत्रीय प्रतिनिधि तथा देवचुली-१३ का वडाध्यक्ष एकदेव पौडेलले महत्त्वपूर्ण दस्तावेज हस्तान्तरण गरी सचिवालयको औपचारिक कार्य प्रारम्भ गरिएको नेपाली कांग्रेस देवचुली-१२ का वडा सभापति गजेन्द्र लामिछानेले जानकारी दिनु भयो।

सचिवालयको मुख्य उद्देश्य आम मतदाता र जनप्रतिनिधिहरूसँग प्रत्यक्ष जोडिन पुलको भूमिका निभाउनु रहेको छ। साथै, सचिवालय क्षेत्रीय विकास योजनाहरूमा सक्रिय रहँदै सांसद डा. शशांक कोइरालाको चुनावी क्षेत्रमा समग्र विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको सचिवालय प्रमुख नारायण पौडेलले बताउनु भयो।
सचिवालयले मतदाताहरूको समस्या, माग र गुनासाहरू संकलन गरी सम्बन्धित निकायसम्म पुर्याउने, सांसद कोइरालाको पहलमा सञ्चालित पूर्वाधार विकास परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि निगरानी र समन्वय गर्ने, नीति निर्माणमा आवश्यक सुझाव संकलन गर्दै संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गर्ने, साथै समाजसेवा, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा राहत वितरणमा सक्रिय रहनेछ। त्यसैगरी, पार्टी संगठनलाई बलियो बनाउन विभिन्न कार्यशाला, बैठक तथा छलफल कार्यक्रम सञ्चालन गर्ने, युवा तथा महिला सशक्तिकरणका विशेष कार्यक्रम ल्याउने, पिछडिएको समुदायका आवाजलाई नीति निर्माणमा उठाउने तथा नागरिकलाई सरकारी सेवा, कानुनी सहायता, रोजगारीका अवसर, कृषि तथा व्यवसाय प्रवर्द्धनमा सहयोग पुर्याउने योजना सचिवालयले अघि सारेको छ।
कार्यक्रममा नेपाली कांग्रेस पार्टिका विभिन्न पदाधिकारी तथा युवा नेताहरुको उपस्थिती रहेको थियो।