देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा देवचुली १४ छत्तिसघरमा आयोजित पाँचौँ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।

गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवमा आइतबार चर्चित लोक दोहोरी गायिका शान्ता रानी परियारको साथमा जेडिसी डान्स ग्रुप सहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा गायिका शान्ता रानी परियारले म त ढले ढले , पोखरामा घाम लाग्यो , तिम्रै माया पियारो जस्ता गीत गाउँदै उपस्थित दर्शकहरूलाई नचाएका थिए।

देवचुली उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष नारायण प्रसाद पौडेलको स्वागत मन्तव्य रहेको आजको कार्यक्रममा सूर्यप्रसाद दवाडीको अध्यक्षता तथा देवचुली वडा न १६ का वडा अध्यक्ष केशव प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो।

महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका निवर्तमान उपाध्यक्ष ओम पौडेलले शुभकामना मन्तव्य रहेको थियो भने नवलपुर उद्योग वाणिज्य संघका महासचिव सागर पोखरेलको आतिथ्यता रहेको थियो। महोत्सवका सांस्कृतिक संयोजक तथा सल्लाहकार सत्य नारायण भुसालको सहजिकरणमा सञ्चालन भइरहेको देवचुली डान्स आइडलको आज समापन भएको छ भने विजेताको नाम महोत्सवको अन्तिम दिन अर्थात सोमबार घोषणा गरिनेछ।

संघका महासचिव तिला बिनोद सिलवालको सहजीकरण रहेको महोत्सवमा १ सय ५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।