देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा देवचुली १४ छत्तिसघरमा आयोजित पाँचौँ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।

गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवको १३ औं दिन शनिबार चर्चित लोक दोहोरी गायक राजन गुरुङ , विन्दु परियार , सुरेश अन्जान , उमादेवी खनाल , कमेडियन सन्तोष खनालको साथमा बाल कमेडियन सुयषा खनाल सहित सुमन रोका, दीपक सपूत तथा जेडिसी डान्स ग्रुप सहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।
कार्यक्रममा गायक राजन गुरुङले उही खोलिको पानी , आकाशै माथि , सांझको बेला जस्ता गित गाउँदा बिन्दु परियारले दिलवाली लगायतको गित गाउँदै उपस्थित दर्शकहरुलाई नचाएका थिए।

महोत्सवमा शनिबार सेपाक ताक्रोको डेमो खेल समेत प्रस्तुत गरिएको थियो। अन्तराष्ट्रिय स्तरमा सहभागी भएर देश र नगरको नाम राख्न सफल यस खेलको प्रचार प्रसारको लागी राष्ट्रियहरु खेलाडीहरुले उक्त डेमो प्रस्तुत गरेका हुन्।

देवचुली उद्योग वाणिज्य सङ्घका सचिव तिला अर्यालको स्वागत मन्तव्य रहेको आजको कार्यक्रममा सूर्यप्रसाद दवाडीको अध्यक्षता तथा देवचुली वडा न १४ का वडा अध्यक्ष गोपाल थापाको प्रमुख आतिथ्यता रहेको थियो।महोत्सवका सांस्कृतिक संयोजक तथा सल्लाहकार सत्य नारायण भुसालको सहजिकरणमा देवचुली डान्स आइडल निरन्तर अगाडी बढिरहेको छ।

संघका महासचिव तिला बिनोद शिलवालको सहजीकरण रहेको महोत्सवमा १ सय ५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।
