देवचुली
देवचुलीको फारममा जारी चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहरले जितेको छ।

शनिबार भएको अति नै रोमाञ्चक खेलमा गैँडाकोट फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै अभिषेक चर्च रजहरले उपाधि माथि कब्जा गरेको हो।

देवचुलीको फारममा रहेको बरचुली माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा उत्कृष्ट खेल प्रस्तुत गर्दै फाइनल खेलमा सुरज गुरुङ म्यान अफ दि म्याच हुन सफल भएका छन् । यो सँगै प्रतियोगितामा प्रथम तथा द्वितीय भएको समुहलाई क्रमश रु १ लाख ५५ हजार र ८१ हजार नगदको साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

गत फाल्गुन १० गते देखि सुरु भएको प्रतियोगिताको अन्तिम दिन अर्थात समापन समारोहमा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता सँगै देवचुली युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दीपक चन्द्र भट्टराईको अध्यक्षता रहेको थियो।

सो अवसरमा आफ्नो भनाई राख्नुहुँदै देवचुली नगरपालिकाका नगर प्रमुख तथा प्रमुख अतिथि न्यौपानेले देवचुली नगरपालिकालाई खेलको हब बनाउनको लागी यस्ता कार्यक्रमहरूले टेवा पुर्याउने हुँदा आगामी दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने र सरोकारवालाहरूलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
नगर खेलकुद विकास समितिका सचिव प्रकाश काफ्लेको सहजीकरण रहेको कार्यक्रममा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी , नगर प्रवक्ता तिल प्रसाद काफ्ले , देवचुली वडा न १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे ' दीपक ' , देवचुली १४ का अध्यक्ष गोपाल थापा , देवचुली १३ का अध्यक्ष एकदेव पौडेल , देवचुली १० का अध्यक्ष रेप्ति कुमार घर्ति , नगर शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा , विभिन्न टोल विकास संस्था तथा आमा समूहहरू , जिल्ला खेलकुद विकास समितिका पदाधिकारी , नगर खेलकुद विकास समिति देवचुलीका पदाधिकारी , फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमाल सहित अन्य पदाधिकारी ,मुख्य प्रायोजक संस्था चौतारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्त बहादुर तिवारी लगायतका व्यक्तित्वको आतिथ्यता रहेको थियो।

कार्यक्रममा नगर उप प्रमुख पार्वता तिवारीले आफ्नो भनाई राख्दै खेलकुद मानिसको जीवनमा अति नै आवश्यक पक्ष भएकोले नगरपालिकाले यसलाई प्राथमिकता राख्दै आइरहेको बताउनु भएको थियो।

प्रतियोगिताको समापन सत्रमा विजेता तथा उप विजेता समुह सँगै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुजित बुढाथोकी ( अभिषेक चर्च ) , उत्कृष्ट गोल रक्षक सफल खत्री ( गैँडाकोट ) , सर्वाधिक गोलकर्ता द्वय माया क्रिस्ट र रोशन क्षेत्रीलाई जनही ५/५ हजार नगदले कार्यक्रममा उपस्थित नगर उप प्रमुख , पुर्व युवा तथा खेलकुद विकास समितिका अध्यक्ष , वडा अध्यक्षहरुले पुरस्कृत गरेका थिए। प्रतियोगितामा नवलपुरसहित पश्चिम नवलपरासी र चितवनका गरी १५ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको खेल सम्योजक गङ्गा बहादुर थापाको स्वागत मन्तब्यको साथमा दिब्य एकेडेमीका बिधार्थीहरुको मार्च पास रहेको प्रतियोगितालाई समापन गर्दै देवचुली युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दीपक चन्द्र भट्टराईले यो खेलले नगरको गौरव र स्वाभिमान बढाएकोमा खुसि लागेको बताउनुहुँदै सहयोगी सम्पूर्णलाई आभार व्यक्त गर्नुभएको थियो।
