देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा देवचुली १४ छत्तिसघरमा आयोजित पाँचौँ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।

गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवमा बिहीबार चर्चित लोक दोहोरी गायक अर्जुन सापकोटाले आफ्नो चर्चित गीतहरू बनकी चरी , गलबन्दी लिस्यो , भनम कि नभनम एउटा कुरा छ , दुई दुना चार , दुख साटम्ला , बस्यौ अलक्कै जस्ता गीत गाएका थिए भने अर्का गायक कुलेन्द्र बिश्वकर्माले आफ्नो लोकप्रिय गित डाँडै फुर्के सल्लो , जलजला ,नजाऊ है सानू पधेंरीमा , सालको पट टपरी हुने लगायतको गीत गाउँदै उपस्थित दर्शकहरूलाई नचाएका थिए।

देवचुली उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रेशमलाल सापकोटाको स्वागत मन्तव्य रहेको आजको कार्यक्रममा सूर्यप्रसाद दवाडीको अध्यक्षता तथा देवचुली वडा न १५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो।


महोत्सवका सांस्कृतिक संयोजक तथा सल्लाहकार सत्य नारायण भुसालको सहजिकरणमा देवचुली डान्स आइडल सँगै बिहीबार देखि ८ समुहको सहभागितामा रत्यौली प्रतियोगिता समेत सुरु भएको छ ।

रत्यौली प्रतियोगितामा पहिलो दिन समुहले प्रस्तुति राखेका थिए। संघका सचिव तिला देवी अर्यालको सहजीकरण रहेको महोत्सवमा १ सय ५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।