देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा देवचुली १४ छत्तिसघरमा आयोजित पाँचौँ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।
गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवमा मङ्गलबार चर्चित गायिका एलिना चौहान , लोकप्रिय गायक कर्णराज तथा जेडिसी डान्स ग्रुप सहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।

मङ्गलबारको सांस्कृतिक कार्यक्रममा गायिका एलिना चौहानले आफ्नो चर्चित धोकेवाज , कट्टा हान्दिन्छु , दुस्मन हेरेको हेरै , छुट्यो प्रेम लगायतका गीत गएकी थिइन् भने अर्का गायक कर्णराजले किस किस , सुन माकुरी गीतहरू गाउँदै दर्शकहरूलाई मन्त्र मुग्ध बनाएका थिए।

देवचुली जेसिजका अध्यक्ष ढुण्डी राज छेत्रीको स्वागत मन्तव्य रहेको आजको औपचारिक कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद दवाडीको अध्यक्षता तथा देवचुली वडा न १ का वडा अध्यक्ष कृष्ण बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो। महोत्सव कै अवसर पारि सुरु भएको देवचुली डान्स आइडल महोत्सवका सांस्कृतिक संयोजक तथा सल्लाहकार सत्य नारायण भुसालको सहजिकरणमा निरन्तर अघि बढिरहेको छ।

सङ्घका महासचिव बिनोद सिलवालको सहजीकरण रहेको महोत्सवमा १ सय ५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।