देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा देवचुली उद्योग वाणिज्य सङ्घको आयोजनामा देवचुली १४ छत्तिसघरमा आयोजित पाँचौँ देवचुली महोत्सव भव्य रुपमा सञ्चालन भइरहेको छ।

गत फाल्गुन १२ गते देखि सुरु भएको महोत्सवमा आज आइतबार चर्चित लोक दोहोरी गायिका ज्योति मगर, चर्चित लोक दोहोरी गायक कुशल बेलबासे , ऋतु कंडेल , बेल राना मगर , कोपिला गुरुङ , अमर रजाली जादुगर बलराम सरकार , जेडिसी डान्स ग्रुप सहित स्थानीय कलाकारहरूको विशेष प्रस्तुति रहेको थियो।महोत्सवमा गायिका ज्योति मगरले आफ्नो चर्चित गीत कान्छी मुुसुक्कै पैसा भुसुक्कै , चोली भित्र के छ , उही मुलाको सिन्की , बन केरा , ढाडे बिरालो जस्ता गित गएकी थिइन् भने अर्का गायक कुशल बेलबासेले फलिफाप , हातैका पौजाले , सनिसार जस्ता गीतहरू गाउँदै दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए।

देवचुली उद्योग वाणिज्य सङ्घका सचिव तिलादेवी अर्यालको स्वागत मन्तव्य रहेको आजको औपचारिक कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद दवाडीको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख बाबुराम बिश्वकर्माको प्रमुख आतिथ्यता संगै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य अनिल कृष्ण श्रेष्ठ , नेपाल उद्योग वाणिज्य महासङ्घका गण्डकी प्रदेश सदस्य उत्तम शर्मा ढकाल , देवचुली उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष धर्मराज बस्याल , रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शंकर गिरि , निवर्तमान अध्यक्ष रेशमलाल सापकोटा , महोत्सवका सांस्कृतिक संयोजक तथा सल्लाहकार सत्य नारायण भुसालको आतिथ्यता रहेको थियो। महोत्सव कै अवसर पारि सुरु भएको देवचुली डान्स आइडल समेत निरन्तर अघि बढिरहेको छ।

सङ्घका महासचिव बिनोद सिलवालको सहजीकरण रहेको महोत्सवमा १ सय ५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।
