देवचुली
फाल्गुन १२ गतेबाट सुरु हुने पाँचौं देवचुली महोत्सवको तयारी पूरा भएको छ। महोत्सव परिसर रहेको देवचुली १४ यतिबेला रङ्गीचङ्गी देखिन थालेको छ।
महोत्सव स्थल वरिपरि मानिसहरूको चहलपहल पनि बाक्लिन थालेको छ।

पाँचौं देवचुली महोत्सवको सम्पूर्ण तयारी सकेर देवचुली उद्योग वाणिज्य संघ उद्घाटनका दिन हुने शोभा यात्राको तयारीमा जुटेको छ। शोभा यात्रा फाल्गुन १२ गते बिहान ११ बजे देवचुली उद्योग वाणिज्य संघको परिसरबाट सुरु भई दलदले बजार हुँदै महोत्सव स्थल देवचुली १४ पुग्नेछ।

महोत्सवको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम तय भएको देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीले जानकारी दिनुभयो । देवचुली महोत्सवले देवचुली नगरपालिकाको स्थानीय भेषभुषा, संस्कृति, कला, कृषि, पर्यटन, उद्योग, व्यापार, व्यवसायलाई प्रवर्द्धन गर्ने भएकाले स्थानीय स्तरबाट तयारी तीव्र पारिएको उहाँले बताउनुभयो ।

देवचुली महोत्सवको परिसरमा तयार पारिएको देवचुली डाँडाको प्रतिमासँगै थारु, मगर, गुरुङ,दराई, बोटे लगायतका जनजातिहरूको मौलिक चिनारी घरले पनि महोत्सव परिसरलाई थप आकर्षक बनाएको छ ।

सोमबार बिहान सुरु हुने शोभा यात्रामा देवचुली नगरपालिकाभित्रका आमा समूह, टोल सुधार समिति, सहकारी, वन, विद्यालय, खानेपानी, युवा क्लब, लगायत विभिन्न संघसंस्था र व्यक्तित्वहरूको उपस्थिति रहने र उद्योग वाणिज्य संघको परिसरबाट बाजागाजा सहित महोत्सव स्थलसम्म जाने कार्यक्रम रहेको देवचुली उद्योग वाणिज्य संघका महासचिव विनोद सिलवालले बताउनुभयो।

पाँचौं देवचुली महोत्सव अघिल्ला महोत्सवहरूभन्दा पृथक, व्यवस्थित, सभ्य र भव्य हुने देवचुली उद्योग वाणिज्य संघको विश्वास छ। महोत्सवमा विभिन्न पिङ, झुला, व्यापारिक स्थल, सेल्फी जोन लगायत सांस्कृतिक कार्यक्रम गर्नका लागि भव्य मञ्चको समेत व्यवस्था गरिएको छ। फाल्गुन १२ गतेबाट सुरु भएको महोत्सव फाल्गुन २५ गतेसम्म चल्नेछ।