देवचुली
देवचुली उद्योग वाणिज्य संघको आयोजनामा आगामी फाल्गुन १२ गतेदेखि २५ गतेसम्म हुन लागेको महोत्सवलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागी दैनिक छलफल तथा अन्तरक्रिया भइरहेको छ।

सोही क्रममा आज शनिबार नगर भित्रका २ वटा वडामा रहेका आमा समुह तथा टोल विकास संस्था सँग छलफल भएको छ। शनिबार महोत्सवका आयोजक देवचुली उद्योग वाणिज्य संघले नगर भित्रका २ वटा विभिन्न वडामा रहेका आमा समुह , टोल विकास संस्था तथा कृषक समूह लगायतका संघसंस्थाहरु सँग छलफल गरि देवचुली ७ मा विष्णु भट्टराई र देवचुली ११ मा कल्पना न्यौपानेको संयोजकत्वमा कलश यात्रा समिति समेत गठन गरेको छ।

गठित वडागत उप समितिहरूमा सम्बन्धित वडा भित्र रहेका विभिन्न आमा समूह , टोल विकास संस्था तथा कृषक समुहहरूलाई समावेश गरिएको छ। सम्बन्धित वडामा सम्पन्न छलफल कार्यक्रममा देवचुली महोत्सवको संघ संस्था समन्वय उप समितिका संयोजक तिलादेवी अर्यालको अध्यक्षता सँगै देवचुली ७ मा सोहि वडाका अध्यक्ष भुमिसरा आले र देवचुली ११ मा समेत सोही वडाका अध्यक्ष तिल प्रसाद काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो।

यसपटकको देवचुली महोत्सव अघिल्ला महोत्सव भन्दा केही पृथक हुने र यस महोत्सवमा १५० वटा भन्दा बढी व्यापारिक स्टल, २० वटा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका प्रर्वद्धनात्मक स्टल, बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु , जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरूको प्रदर्शनी, ६० भन्दा बढी राष्ट्रिय र स्थानीय कलाकारको सहभागिता हुने साथै १ लाख ५० हजार दर्शक भित्र्याउने र १५ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ।
