देवचुली
नवलपुरको देवचुली नगरपालिकामा फागुन १० गतेबाट चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ।
देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सहआयोजनामा फागुन १० गतेबाट २४ गतेसम्म फारममा रहेको बरचुली माध्यमिक विद्यालयको खेलमैदानमा चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिता सुरु हुन लागेको हो।

बिहिबार खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुद विकास समिति देवचुलीका अध्यक्ष दीपकचन्द्र भट्टराईले व्यवस्थित रूपमा मेयरकप सञ्चालन गर्नका लागि आँफूहरू कतिबद्ध भएर लागेको बताउनुभयो। उहाँले फागुन महिनामा देवचुली नगरपालिकामा देवचुली महोत्सव लगायत तीन ठूला कार्यक्रम एकैसाथ सञ्चालन हुने भएकाले सबै कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । देवचुली नगरपालिकामा खेलकुद र युवाहरूको क्षमता विकासका लागि देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिले सदैव काम गरिरहेको उहाँले बताउनुभयो।

पत्रकार सम्मेलनमा कार्यक्रम सञ्चालनका विषयमा प्रकाश पार्नु हुँदै प्रतियोगिताका सहसंयोजक सन्दिप पौडेलले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नका लागि सबै तह र तप्काका व्यक्ति र संस्थासँग समन्वय गरिएको बताउनुभयो। प्रतियोगिताका आर्थिक संयोजक सुजन सापकोटाले प्रतियोगिता सञ्चालनका लागि आर्थिक रुपमा सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरु र अन्य सहयोगीहरुलाई पनि धन्यवाद व्यक्त गर्नुभयो।

चौथो देवचुली मेयर कप फुटबल प्रतियोगितामा नवलपुरसहित पश्चिम नवलपरासी र चितवनका गरी १५ वटा टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। प्रतियोगितामा युनाइटेड युवा क्लब, देवचुली १ खेलकुद विकास समिति, ठकुरी ब्वाइज, गैंडाकोट फुटबल क्लब, प्रगति कलामन्दिर युवा क्लब, रजहर एफसी, रामपुर रड्स, दुम्कीबास डिवाइडिए, फारम खेलकुद विकास समिति, कावासोती युवा क्लब, पटिहानी फुटबल क्लब, देवचुली युवा खेलकुद विकास समिति, अभिषेक चर्च, योङ्ग ब्वाइज र भैरव स्पोर्ट्सको सहभागिता रहनेछ।

प्रतियोगितामा प्रथम हुने टिमले रु १ लाख ५५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी द्वितीय हुने टिमले ८१ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ। सेमिफाइनल पुग्ने दुई टिमलाई रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ५ हजार, उत्कृष्ट गोल रक्षकलाई रु ५ हजार, सर्वाधिक गोलकर्तालाई रु ५ हजार र हरेक दिनका म्यान अफ द म्याचलाई एक /एक हजारको दरले पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित ८ लाख २१ हजार खर्च हुने आयोजकको भनाइ छ ।
फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो।