देवचुली,
देवचुली नगर स्तरीय प्रथम खुल्ला कराँते प्रतियोगितामा सकलादेवी माध्यमिक विद्यालय उत्कृष्ट प्रदर्शन गरी प्रथम स्थान हासिल गर्दै उपाधि उचालेको छ । । देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयको आयोजना देवचुली नगरपालिका, वडा नम्बर ५, नगर युवा तथा खेलकुद विकास समिति र युवा तथा खेलकुद विकास समिति देवचुली ५ ले समन्वय साथै नेपाल कराँते महासंघ तथा सितेरियो कराँते संघ देवचुलीले व्यवस्थापन गरेको थियो ।

देवचुली नगरपालिका भित्र रहेका ८ वटा विद्यालयमा रहेका कराँते डोजाङ्का ३ सय जना खेलाडी सहभागी प्रतियोगितामा सकलादेवी माविले १३ स्वर्ण, ९ रजत र १४ कास्य पदक प्राप्त गरि प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा भीमसेन आदर्श माध्यमिक विद्यालयले ८ स्वर्ण, ११ रजत र १२ कास्य पदक प्राप्त गरि दोस्रो भएको छ भने देवचुली १ मा रहेको दिव्य एकेडेमीले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित तेस्रो भएको छ । प्रतियोगितामा भृकुटी इङ्लिस बोडिङ्ग स्कुलले ३ स्वर्ण, ३ रजत र ६ कास्य पदक, पाठशाला मन्टेश्वरीले १ स्वर्ण, २ रजत र ४ कास्य पदक, धारापानी डोजोले १ स्वर्ण र १ कास्य पदक साथै दिव्यज्योती आधारभूत विद्यालयले २ कास्य पदक हात पारेका छन । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि रहनुभएका देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेको पुरस्कार प्राप्त गर्न सफल सम्पुर्ण विद्यालयका विद्यार्थीहरुलाई बधाई दिनुहुँदै आगामी दिनमा विद्यार्थीहरुको चौतर्फी विकासको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा देवचुली ५ का वडा अध्यक्ष कृष्णप्रसाद सापकोटा, नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई, देवचुली ५ का पुर्व वडा अध्यक्ष शिव सापकोटा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, कराँतेका प्रशिक्षक, खेलाडीहरुको उपस्थिति रहेको थियो । सकलादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ पोख्रेलले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो ।
