फागुनको पहिलो साता बिस्तारै कुहिरोका पत्रहरूलाई पन्छ्याउँदै घामले दर्शन दिन खोजिरहेको थियो। समय मध्यान्हलाई पछि पार्दै अघि बढिसकेको थियो। रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयको मूलढोकाबाट प्रवेश गर्ने बित्तिकै दाहिनेपट्टिको विश्रामगृहमा केही थान दिग्गजहरु जीवनका उत्तरार्धका गफ सुनाइरहेका थिए । त्यही जमातको एउटा कुनामा मुसुमुसु हाँस्दै बसिरहेका थिए जीवनको युद्धमा मृत्युलाई जितेर आएका हरि । हरि अर्थात् सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरिप्रसाद सापकोटा। मलिनो घाममा विश्रामगृहको टिनमुनि जीवन, मृत्यु, स्वास्थ्य, धन, आहारविहार, जीवनशैली आदी यस्तै विषयका प्रसङ्गहरू उप्किरहेका थिए। जीवन बाँच्नका लागि बिमारले सिकाउँछ, बिमारले मान्छेलाई अनुशासित बनाउँछ । अनुशासित बन्नका लागि प्राकृतिक चिकित्सालाईको पाठशाला जीवनमा अपरिहार्य छ। यस्तै कथन सुनाइरहेका थिए सामुदायिक प्राकृतिक चिकित्सालयमा आई जीवनको महत्व बुझेका पाका मान्छेहरु । कोही भन्दै थिए जीवनलाई मृत्युबाट खोसेर "हरि"ले हामी सबैका लागि जीवन जिउने कलाको मन्दिर बनाउने सपना देखे। त्यस्ता हरिलाई हामीले बिर्सनै हुन्न । सामुदायिक प्राकृतिक चिकित्सालय एउटा सिङ्गो "हरि" मात्रै भएर बनेको स्वास्थ्यको मन्दिर होइन। यो मन्दिर बन्नका लागि थुप्रै हरिहरुले रगत, पसिना चुहाएका छन् । धेरैले प्राकृतिक चिकित्सालयको यसोवृद्धिका लागि धेरै जुत्ताका तलुवा फटाएका छन्।


सामुदायिक प्राकृतिक चिकित्सालयको विश्रामगृह केवल विश्राम गर्ने मात्रै थलो होइन। जीवनको उत्तरार्धमा पुगेका पाका मान्छेलाई जीवन बुझ्दै बामे सरी रहेका काँचा मान्छेहरुसँग जोड्ने सूत्रधार पनि हो। चिकित्सालयको विश्रामगृहमा विश्राम गर्नेहरूले मात्रै शरीरलाई विश्राम दिइरहेका हुन्छन्, मस्तिष्क भने त्यतिबेला पनि जीवन र मृत्युबीचको मसिनो आशाको धागोलाई भरोसाको सुईसँग उनीरहेका हुन्छन्।

सामुदायिक प्राकृतिक चिकित्सालयको विश्राम गृहमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइराला, विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश प्रसाद ढकाल, शिक्षाविद् रामकान्त सापकोटा, पूर्व राजदूत डा.मायाकुमारी शर्मा, प्राध्यापक कृष्णप्रसाद सापकोटा र संघीय सांसद डा. स्वर्णिम वाग्लेका मातापिता जीवन वाग्ले र दिलकुमारी वाग्ले सहित एक दर्जन पाका मान्छेहरु पाकै गफ गरिरहेका थिए । सामुदायिक प्राकृतिक चिकित्सालयमा स्वास्थ्पोचार लिन आएका स्वास्थ्यार्थीहरू आँफू निको भएर मात्र जाँदैनन्, उनीहरुले आफ्नो बौद्धिक सम्पत्तिलाई चिकित्सालयमै साझा गरेर जान्छन्। विगत एक हप्ताबाट सामुदायिक प्राकृतिक चिकित्सालयमा स्वास्थ्य उपचार गरिरहेका दिग्गजहरुले चिकित्सालयको आँगनमा मंगलबार दिउँसो एउटा सामूहिक तस्बिर खिचे र तस्बिरसँगै सामुदायिक प्राकृतिक चिकित्सालयलाई चिकित्सा विज्ञानको शिक्षण अस्पतालका रुपमा अगाडि बढाउन हातमा हात मिलाए र ऐक्यबद्धता जनाउँदै सामुहिक तस्बिर खिचाए ।

गालामा खेतका गरा जस्ता चिरा परेका, निधारमा खेतकै आली जस्ता गाँठा परेका र शरीरका अधिकांश ठाउँहरू मुजा परेका मान्छेहरू त आएर प्राकृतिक उपचारपछि जीवनलाई अर्को आँखाले हेरिरहेका छन् । युवा अवस्थामै बुढ्यौली लागेकाहरु भने स्वास्थ्य र जीवनलाई हलुका आँकिरहेका छन्। यता मान्छेहरुलाई जीवन जीउने कला सिकाउन पर्खिरहेछ रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयको विश्रामगृह ।
