नवलपुर,
देवचुली नगरपालिका–१७ मा निर्माण हुन लागेको देवचुली ट्रमा सेन्टर को निर्माण प्रक्रिया अघि बढ्ने भएको छ। आइतबार वन तथा भू संरक्षण विभाग र देवचुली नगरपालिकाबीच सम्झौता भएसँगै ट्रमा सेन्टरको लागि आवश्यक जग्गा हस्तान्तरण र रुख कटानको अनुमति प्राप्त भएपछि निर्माण कार्यले तीव्रता पाउने भएको हो।
नगरपालिकाका अनुसार ट्रमा सेन्टरलाई २ हेक्टर जग्गा उपलब्ध गराइनेछ भने त्यहाँ रहेका ६४६ वटा रुख कटानको स्वीकृति प्राप्त भइसकेको छ। अब निर्माण कार्य सघन सहरी विकास तथा भवन निर्माण आयोजना, चितवनमार्फत ठेक्का प्रक्रियाबाट अघि बढाइने छ। देवचुली नगरपालिकाको नेतृत्वमा अघि बढेको यो योजनाले नवलपुरसहित विभिन्न जिल्लाका बिरामीहरूलाई राहत दिने विश्वास गरिएको छ। पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गको मुख्य नाका नजिकै रहेकोले सडक दुर्घटनाका गम्भीर घाइते तथा आकस्मिक बिरामीहरूको उपचारमा यो अस्पताल महत्त्वपूर्ण सावित हुने नगर प्रमुख न्यौपानेको भनाइ छ।
अस्पताल सञ्चालनपछि आवश्यक स्वास्थ्य उपकरण, विशेषज्ञ चिकित्सक तथा अन्य पूर्वाधार विस्तार गर्दै प्रदेशकै प्रमुख ट्रमा सेन्टरको रूपमा विकास गरिने लक्ष्य राखिएको छ।
नगर प्रमुख न्यौपानेले संघीय सरकार, प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै बजेट सुनिश्चित गर्ने, स्थानीय समुदायलाई योजनासँग जोड्ने कार्यमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनु भयो।
ट्रमा सेन्टरको सञ्चालनसँगै यहाँ मल्टीस्पेसलिटी आकस्मिक सेवा, आधुनिक शल्यक्रिया कक्ष, विशेषज्ञ डाक्टरहरूको टोली, अत्याधुनिक मेडिकल उपकरण, तथा आकस्मिक उद्धार संयन्त्र रहनेछ। विशेष गरी सडक दुर्घटना, आकस्मिक चोटपटक तथा जटिल घाउ भएका बिरामीहरूको उपचारमा प्राथमिकता दिने बताइएको छ। नगरपालिकाले ट्रमा सेन्टरको निर्माण कार्य समयमै सम्पन्न गर्न पहल गरिरहेको र निर्माण सम्पन्न भएपछिको सेवा प्रभावकारी बनाउन संघीय तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
देवचुली ट्रमा सेन्टरले मध्यनेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्दै हजारौं बिरामीको जीवन जोगाउने अपेक्षा गरिएको छ। यो परियोजनाले नवलपुर लगायत गण्डकी बाग्मती र लुम्बिनी प्रदेशका बासिन्दाहरूलाई बिशेषतगुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै देवचुली नगरपालिकाको विकास र पहिचानलाई नयाँ उचाइमा पुर्याउनेछ।
देवचुली नगरपालिकाले ट्रमा सेन्टर निर्माण कार्यलाई अघि बढाउन योगदान गर्ने सबै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ। विशेष गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, जिल्ला प्रशासन कार्यालय नवलपुर, डिभिजन वन कार्यालय नवलपुर, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू तथा सम्पूर्ण नगरवासीहरू प्रति आभार व्यक्त गरिएको छ।