देवचुली,
देवचुली १ मा रहेको दिव्य एकेडेमीमा स्पोर्टस मिट २०८१ सुरु भएको छ । सोमबार विद्यालयका निर्देशक टि.एम पौडेलको अध्यक्षता तथा देवचुली नगरपालिकाका शिक्षा अधिकृत नन्दलाल ढकालको प्रमुख आतिथ्यतामा सुरु भएको स्पोर्टस मिट चल्नेछ ।
स्पोर्ट्स मिट आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि ढकालले विद्यार्थीहरुले आफ्नो अध्ययन र खेलकुदलाई संगसंगै अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो । शरिर स्फुर्ति भयो भने दिमाग स्फुर्त हुने र त्यसको लागि खेलकुदका क्रियाकलापमा सबै विद्यार्थीहरु समेटिने गरि सहभागी गराउनुपर्ने ढकालको भनाई छ ।

कार्यक्रम अन्र्तगत पहिलो दिन वल व्यालेन्स रेस, हेड व्यालेन्स, बल इन बकेट, वेलुन रेस, सेक रेस, बेलुन जम्प रेस, चेन रेस, थ्री लेग्ड रेस, स्टेपिङ् स्टोन रेस, फ्रेण्ड क्यारी रेस, ह्वाईल बरो रेस, बोटल फिलिङ रेस लगायतका खेलहरु सम्पन्न भएका छन ।

कार्यक्रमका अवसरमा दिव्य एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल वस्ताकोटी, युवा तथा खेलकुद विकास समिति देवचुलीका उपाध्यक्ष अमर वहादुर घर्ति, प्याव्सन देवचुलीका अध्यक्ष सन्तबहादुर क्षेत्री लगायतले विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप पढाई जत्तिकै आवस्यक भएको बताउँदै स्पोर्ट्स मिटको भव्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा देवचुली नगरपालिका वडा नं १ का वडा सदस्य अजय थनेत, खेलकुद विकास समिति देवचुलीका सदस्य सचिव प्रकाश काफ्ले लगायतको उपस्थिति रहेको थियो । विद्यालयकी शिक्षक निमा पौडेल तिवारीको मुक्तक सहितको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण विद्यालयकी प्रधानाध्यापक कोपिला भण्डारीले गर्नुभएको थियो ।