देवचुली,
दोस्रो पिप्रहर माघी मेला सफलतापुर्वक सम्पन्न भएको छ । पौष २९ गतेदेखि सुरु भएको माघी मेला विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रम सहित माघ २ गते बुधवार सम्पन्न भएको हो । अन्तिम दिनको कार्यक्रमको प्रमुख आतिथ्यता देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
अन्तिम दिन बुधवार भएको फाइनल प्रतिस्पर्धामा मध्यविन्दुको भलिवल टीमलाई हराउँदै देवचुली–९ ले उपाधि उचालेको हो । प्रतियोगिताको विजेता देवचुली–९ को भलिबल टिमले ४० हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मध्यविन्दु भलिबल टिमले दोस्रो पुरस्कार २५ हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । भलिवल प्रतियोगितामा नवलपुर जिल्लाका विभिन्न १६ टीमले सहभागिता जनाएका खेलकुद संयोजक सन्दीप पौडेलले जानकारी दिनुभयो।
त्यस्तै मंगलबार सम्पन्न अन्तर आमा समूहवीचको लोकगीत गायन प्रतियोगितामा शितलटोल आमा समुह देवचुली १७ प्रथम, प्रगति आमा समुह देवचुली १६ द्वितीय, र महिला जागरण आमा समूह देवचुली १७ ले तृतीय स्थान हासिल गरेका छन् । बुधवार भएको विद्यालय स्तरिय नृत्य प्रतियोगितामा देवचुली भित्रका ५ विद्यालयका विद्यार्थीहरुले विभिन्न जातजाती र भाषाभाषीका गीत र भेषभुषा सहित सहभागिता जनाएका थिए । जसमा अमर इङ्लिस बोर्डिङ्ग स्कूल देवचुली १६ प्रथम, नेपाल नमूना माध्यमिक विद्यालय देवचुली १ दोस्रो र देवचुली माध्यमिक विद्यालय देवचुली १६ ले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए ।
लोक गीत गायन प्रतियोगिता र नृत्य प्रतियोगिताका विजेताले क्रमशः समान ११ हजार १ सय ११, ७ हजार ७ सय ७७ र ३ हजार ३ सय ३३ रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन ।
समापन सत्रको दिन गायक मिलन लामाले थारु गीत हमार थारु गाउँमे लगायत आफ्ना चर्चित गीतहरु माझी दाई पोखरा फेवातालको, घरमा पराल बारीमा बन्सो, हङ्कङ आईडीले लगायत आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । कलाकार दुर्गा सापकोटाले पश्मिनाको बर्को, नैना रेशम सहित गायक सुमन रोका, सरु राई, विवश क्याण्डी लगायतले साँस्कृतिक प्रस्तुति राखेका थिए भने लोक दोहोरी गायिका अस्मि थापा, दुर्गा सापकोटा र मिलन लामाको दोहोरी प्रस्तुति समेत रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्नुहुँदै माघी मेला कार्यक्रमका संयोजक रिमबहादुर आलेले मेला सफलता पूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुहुँदै हरेक वर्ष मनाईने माघी मेलालाई पिप्रहरको विशेषता बनाउने आँफूहरुको लक्ष्य रहेको बताउनुभयो । संयोजक आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साँस्कृतिक कार्यक्रम तर्फको सहजीकरण साँस्कृतिक संयोजक सत्यराज अधिकारीले गर्नुभएको थियो भने सांगितिक कार्यक्रमको सहजीकरण गायक तथा प्रस्तोता सञ्जय देवकोटा र प्रस्तोता अर्जुन कंडेलले गर्नुभएको थियो ।