देवचुली,
दलित जागरण अभियान नेपालको केन्द्रीय समितिले आफ्नो १० औं राष्ट्रिय साधारण सभा तथा वृहत भेलाको आयोजना नवलपुरको फारममा गर्ने भएको छ । संस्थाले आगामी माघ १८ गते शुक्रबार देवचुली नगरपालिका १७ फारममा रहेको वरचुली माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

दलितको हक अधिकारको सुनिश्चितता, सामाजिक न्याय, समानतामुलक समाज निर्माणको लागि स्थापना भएको उक्त संस्थाले समानता मुलक समाजलाई केन्द्रविन्दुमा राखेर कार्यहरु गर्दै आएकोमा विगतको उपलब्धिहरुको समिक्षा गर्दै भविष्यका योजना तयार गर्नेछ । त्यस्तै कार्यक्रम मार्फत् समाजको आर्थिक, शैक्षिक, सामाजिक र साँस्कृतिक रुपान्तरणका लागि दीर्घकालिन योजनाहरु तयार गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा दलित समुदायका नयाँ पुस्तालाई समाजसेवाको लागि प्रेरित गर्ने खालका विचारहरु प्रस्तुत गरिनुका साथै स्थानीय कला संस्कृतिको आदान प्रदान र प्रोत्साहन हुने जनाईएको छ । सो अवसरमा सरोकारवालाहरुको बिचमा सरकारी नितिमा दलित समुदायको सहभागिता सुनिश्चितता गर्न पहल गरिने पनि पत्रकार सम्मेलनमा जानकरी गराइयो ।

१० औं साधारण सभा तथा वृहत भेलामा बामएफला केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रञ्जन, युवा समाजसेवी रुवेन रसाईली, सामाजिक अभियान्ता खगेन्द्र सुनार लगायतको सम्बोधन रहनेछ भने राष्ट्रिय लोक दोहोरी गायक राजु परियार, बद्री पंगेनी, गायिका पूर्णकला बि।सि, गायक गणेश विश्वकर्माको सांगेतिक प्रस्तुति साथै नौमती बाजा, थारु समुदायको झम्टा नाँच, लट्ठी नाँच, मगर जातिको करुवा नाँच, लगायत अन्य साँस्कृतिक प्रस्तुति रहनेछ ।
पत्रकार सम्मेलनमा दलित जागरण अभियान नेपालका केन्द्रिय अध्यक्ष दधिराम परियार, उपाध्यक्ष दीपक बिक, महासचिव भीमबहादुर बिक, सचिव कृष्णबहादुर बिक, क्षेत्रीय अध्यक्ष भीमबहादुर परियार, क्षेत्रीय सदस्य गोरे परियार, जिल्ला सदस्य बिजय कुमार बिक लगायतको उपस्थिति रहेको थियो।

वृहत् भेलामा देशभरबाट करिव दश हजार नागरिकको सहभागिता हुने आयोजकको अपेक्षा छ।