गैँडाकोट,
गैँडाकोटको अमरापुरीमा रहेको महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाको कार्यालय परिसरमा संस्थाका कार्यवाहक अध्यक्ष गोमा पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । १९ औं साधारण सभा कार्यक्रमको प्रमुख आतिथ्यता गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिका रुपमा रहनुभएका कोइरालाले महिलाहरूलाई पनि अवसर दिए हरेक कार्य जिम्मेवार भएर गर्न सक्छन् भन्ने गतिलो उदाहरण महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले गरेको बताउनुभएको थियो । उहाँले महिलाको सङ्घर्ष कुनै पनि आधारमा पुरुष भन्दा कम नभएको बताउँदै समय अनुसार महिलालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्ने बताउनुभयो । कोइरालाले पछिल्लो समय सहकारीका विषयमा विभिन्न किसिमका समाचार आएपनि सबै सहकारीलाई त्यस्तो नकारात्मक रूपले नहेर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक गीता आचार्य ढुङ्गानाले आ।व। २०८०र०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै ढुङ्गानाले सहकारीको माध्यमबाट सामाजमा विभिन्न कार्य गरेको बताउनुभयो । संस्थाले विधवा महिला सम्मान, सदस्य वा सदस्यको श्रीमानको मृत्युमा पारिवारिक राहत वितरण, शेयर सदस्यका छोराछोरीलाई एस।ई।ई मा उत्तीर्ण भएमा पुरस्कार सहित सम्मान, वृद्धा शेयर सदस्यलाई सम्मान, अपाङ्गता बाल बचतकर्ता तथा किशोरी सम्मान, विपन्न जेहेन्दार बाल बचतकर्तालाई स्टेसनरी वितरण, सुनौलो हजार दिनका महिलालाई सम्मान, सुत्केरी सेवा खर्च अन्तर्गत निःशुल्क खाता खोली १ हजार जम्मा गरिदिने, क्षमता अभिवृद्धि तालिम जस्ता कार्यक्रमलाई आगामी दिनमा पनि संस्थाले निरन्तरता दिने बताउनुभएको छ ।
यसैगरी कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामकली सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका लेखा संयोजक सावित्री रानाभाटले आ।व। २०८१र०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाको अवसरमा संस्थाले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । संस्थाले आ।व। २०८० को एस।ई।ई मा उत्कृष्ट नतिजा ल्याउने ४ जना विद्यार्थी, ६५ वर्ष उमेर पुगेका शेयर सदस्य २ जना, सकृय शेयर सदस्य ३ जना, शेयर वृद्धितर्फ १ जना, कर्मचारीतर्फ ३ जना गरि १३ जनालाई सम्मान गरेको थियो ।
साधारण सभामा सामाजिक व्यक्तित्व तेजेन्द्र सापकोटा, महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार खेमप्रसाद सापकोटा, गैडाकोट वडा नं १४ का वडाध्यक्ष कोकिसरा राना मगर, वडा नं १७ का वडाध्यक्ष गोपी कँडेल, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बाबुराम खनाल, महालक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार समितिका संयोजक तेजप्रसाद गौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष गोमा पौडेलले वि।सं २०६३ साल देखि संस्थालाई यहाँसम्म ल्याउन योगदान दिनुभएको सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साधारण सभामा संस्थाका सदस्य गीता कंडेल काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीरकण संस्थाका सचिव दिलशोभा भुसाल सापकोटाले गर्नुभएको थियो ।