नवलपुर
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याब्सन ) नवलपुरको छैटौँ साधारण सभा तथा चौथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ। प्याब्सन नवलपुरका अध्यक्ष दीपक रावतको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय अध्यक्ष डि.के. ढुङ्गानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि ढुङ्गानाले निजी विद्यालय सञ्चालकहरु भौतिक निर्माणमा भन्दा पनि मानवीय स्रोत साधनको विकासमा लाग्न जोड दिनुभयो। उहाँले नेपालको वर्तमान शिक्षाको अवस्था हेर्दा अबको दश बर्षमा विद्यालयमा पढ्ने विद्यार्थी मात्रै नभई शिक्षक पनि पाउन मुस्किल हुने बताउनुभयो।
उहाँले वर्तमान पुस्ता उज्ज्वल भविष्यको खोजिमा बिदेशिएको अवस्थामा निजि विद्यालय सञ्चालकहरुले विश्वस्तरको शिक्षा प्रणालीको बिकास गरेर बिदेशी विद्यार्थीहरुलाई समेत ल्याउन सके मात्र शिक्षा क्षेत्र धरायसी नहुने बताउनुभयो। जिल्लाका प्याबसनिष्टहरुलाई सम्बोधन गर्दै ढुङ्गानाले प्याब्सनको केन्द्रिय समितिले सरकारले बनाउने हरेक शिक्षा नियमावली र नीतिहरुमा निजि विद्यालय सञ्चालकको हक अधिकारका लागि लडिरहेको बताउँदै ढुक्क भएर विद्यालय सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि डि.के. ढुङ्गानाले प्याब्सन नवलपुरको नवनिर्मित भवनको समेत समुद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढुङ्गाना सहित केन्द्रिय उपाध्यक्षद्वय कृष्ण केसी र गोपेन्द्र केशरी न्यौपाने, महासचिव आर.बी. कटुवाल, प्याब्सन गण्डकी प्रदेशका सल्लाहकार भोजराज दाहाल, प्रदेश बरिष्ठ उपाध्यक्ष प्रकाश खनाल, शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ, प्याब्सन गैँडाकोटका अध्यक्ष भरतबाबु कँडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा प्याब्सन नवलपुरको भवन निर्माणको लागी जग्गा प्रदान गर्नुहुने भोजराज दाहाल र अक्सफोर्ड कलेजका प्रिन्सिपल हरि भण्डारीलाई विद्यावारिधि पूरा गर्नुभएकोमा सम्मान गरिएको थियो। प्याब्सन नवलपुरका वरिष्ठ उपाध्यक्ष भीमलाल कँडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण प्याब्सनका जिल्ला सचिव कान्तामणी चौधरीले गर्नुभएको थियो। कार्यक्रममा जिल्लास्थित संस्थागत विद्यालयका सञ्चालकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।