देवचुली,
गत वर्ष जस्तै यस वर्षपनि माघे संक्रान्तिको अवसरमा नवलपुरको देवचुलीमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा माघी मेला हुने भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल, होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा आगामी पौष २९ गते देखि माघ २ गतेसम्म ३ दिनका लागि संचालन गरिने दोस्रो पिप्रहर माघी मेलाको तयारी यतिबेला तिव्र गतिमा अघि बढेको छ । स्थानीय कला संस्कृति र रैथाने खानाको परिकार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बुधबार पत्रकार सम्मेलन गरि दोस्रो पिप्रहर माघी मेला २०८१ को बारेमा जानकारी गराइएको थियो ।
हरेक वर्ष जस्तै यसवर्ष पनि माघी मेला आयोजना गरि ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने, स्थानीय रैथाने कृषि उत्पादनलाई बढावा दिने, स्थानीय श्रम, सीपको सम्बद्र्धन गर्ने, परम्परागत खानाका परिकारहरु विक्री गरि स्वरोजगारलाई टेवा दिने, आयआर्जन तथा जिविकोपार्जनको विकास गर्ने, खेलको विकास गरि युवाहरुलाई व्यक्तित्व विकास गर्ने, स्थानीय कलाकारहरुलाई उजागार गर्ने, मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने र जैविक विविधताको संरक्षण गरि पर्या–पर्यटनको प्रवद्र्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको दोस्रो पिप्रहर माघी मेलाका संयोजक रिमबहादुर आलेले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
थारु, मगर, गुरुङ, मुसहर र कुमाल समुदायका स्थानीय परम्परागत खानाका परिकारहरु विक्रीका लागि प्रदर्शन गरिने, मेलाको अवधिभर जिल्लास्तरीय भलिबल प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको मनोरञ्जन मेलाको मुख्य आकार्षण रहेको छ । यसैगरि मेला अवधिभर बास बस्न र जंगल सफारी गर्न आउने पर्यटकहरुको लागि २५ प्रतिशत छुटको व्यवस्था रहेको मेलाका पूर्व संयोजक पलट प्रसाद चौधरीले बताउनुभयो ।
विशेषगरि नवलपुर र चितवन जिल्लालाई लक्षित गरि मेलाको आयोजना गरिएकोले दुई जिल्लाका संघ, संस्था, व्यापारिक तथा औद्योगिक प्रतिष्ठानहरु, क्लब, आमा समूह, शैक्षिक संस्थाहरु, बालबालिका, युवा, स्थानीय समुदायलाई दोस्रो पिप्रहर माघी मेलालाई सफल बनाउन उपस्थिति जनाउन आयोजकले आग्रह गरेको छ । मेला समुद्घाटनका लागि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मित्रलाल बस्यालको उपस्थिति रहने बताइएको छ ।
३ दिनसम्म संचालन हुने मेलामा करिब ९ लाख खर्चको अनुमान गरिएको छ भने १० हजार मानिसहरुले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको मेलाका आर्थिक संयोजक विष्णु प्रसाद आचार्यले जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनको सहजीकरण कलाकार संयोजक सत्यराज अधिकारीले गर्नुभएको थियो ।