मंगलवार विहान ६ बजेर ५० मिनेट जाँदा नेपालका विभिन्न ठाउँमा भुकम्पको धक्का महसुुस गरियो । भुकम्पको मुख्य केन्द्रविन्दु भने चिनको तिव्वतमा थियो । बेइजिङको समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाइएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो सामाग्री तयार पार्दासम्म भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने कम्तीमा ६२ जना घाइते भएका छन् ।
चीनसहित नेपाल,भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको थियो । नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा ७ म्याग्निट्यूड मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ । चिनियाँ निकायहरूले भने उक्त भूकम्पको म्याग्निट्यूड ६.८ भएको जनाएका छन्।
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरू भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए । सामाजिक सञ्जालहरूमा राखिएका भिडियोेहरूमा लात्से नगरनजिकै पसलहरू भत्किएको देख्न सकिन्छ ।
भूकम्पपछि त्यस क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेका बताइएको छ । चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको र मानवरहित ड्रोनलाई सगरमाथा नजिकैको दुर्गम क्षेत्रमा परिचालित गरेको छ ।
नेपालमा पनि भूकम्पका कारण ओखलढुङ्गा, सोलुखुम्बु र सङ्खुवासभामा केही घरमा क्षति पुगेको छ ।
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर मुनि गएको जनाएको छ । विहान ६ः५० को भुकम्प पछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जनभन्दा बढी भूकम्प मापन गरिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्। भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएको विवरण आएका छन् ।
दक्षिण पश्चिम चीनमा बारम्बार भूकम्पको प्रभाव देखा पर्ने गर्छ । सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७०,००० जनाको ज्यान लिएको थियो । चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि शिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्यो भन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो ।