देवचुली
वातावरण संरक्षणका लागि युवा नामक संस्थाको आयोजना र देवचुली नगरपालिकाको संरक्षणमा सुरु भएको दुई दिने मानव वन्यजन्तु सह अस्तित्व सम्मेलन आज शनिबार सकिएको छ। देवचुली नगरपालिकाको संरक्षणमा देवचुलीको पिप्रहर सामुदायिक होमस्टेमा आयोजित कार्यक्रममा विशेषत पछिल्लो समयमा बढ्दै गएको मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।
संस्थाका अध्यक्ष सुजन भुसालको अध्यक्षता सँगै देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विभिन्न ५ वटा सेसनमा रही विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा देवचुली नगरपालिकाका कृषि शाखा प्रमुख गगन भट्टराईको सहजीकरणमा " कृषि र कृषकमा वन्यजन्तुले पारेको सकारात्मक र नकारात्मक प्रभाव " , चरा संरक्षणकर्मी डिबी चौधरीको सहजीकरण " चरा मानव द्वन्द र सह अस्तित्व " , प्रगतिनगर खानेपानि तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालको सहजीकरणमा " जलवायु परिवर्तनले मानव र बन्यजन्तुमा परेको प्रभाव " , राष्ट्रिय प्रकृति संरक्षण कोषका कन्सल्टेन्ट सुमित सापकोटाको सहजीकरणमा " सर्प र मानव द्वन्द र सह अस्तित्व " र सिद्धान्त क्याम्पसका एकेडेमिक कोर्डिनेटर रुवी शाहको सहजीकरणमा " मानव बन्यजन्तु द्वन्द न्यूनीकरण सह अस्तित्व " भन्ने बिषयमा छलफल गरिएको थियो।
संस्थाका अध्यक्ष सुजन भुसालले कार्यक्रममा आफ्नो भनाई राख्दै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा युवाहरुको भूमिका महत्वपुर्ण हुन्छ भन्ने कुराको बारेमा सुचित गराउन कार्यक्रमको आयोजना गरेको बताएका थिए। सोहि क्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरियो भने मानिसहरुमा चेतनाको स्तर वृद्धि हुँदै जाने र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहज वातावरण बन्नेमा आफु विश्वस्त रहेको बताएका थिए।
पृथ्वीको संरक्षणमा मानव र वन्यजन्तु एकसाथ भन्ने नाराका साथ देवचुलीमा आयोजित कार्यक्रममा चरा अवलोकन समेत गरिएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालयका नवलपुरका प्रमुख बसन्त केशव अधिकारी, देवचुली १६ का वडा अध्यक्ष केशवराज गौतम, देवचुली १७ का वडा अध्यक्ष गणेश शर्मा चालिसे, विभिन्न संघसंस्थाका प्रतिनिधि , विभिन्न विधालयका विद्यार्थी तथा युवाहरु गरि करिव ४ सय भन्दा बढीको उपस्थिति रहेको थियो ।