देवचुली,
रजहर मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार देवचुली १६ को वडा कार्यालय रजहरमा संस्थाका अध्यक्ष गिरिधर सापकोटाको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको अवसरमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने, जिल्ला सहकारी संघका सह–सचिव नारायण प्रसाद पौडेल, सहकारी नगर संजाल देवचुलीका सचिव रिमवहादुर आले, कालिका मध्यवर्ती सामुदायिक वनका अध्यक्ष सुदर्शन लामिछाने, संस्थाका संस्थापक अध्यक्ष दानबहादुर पाण्डे, नि(वर्तमान अध्यक्ष जयन्ती कुमारी श्रेष्ठ,शिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रवहादुर पाण्डे, महिला वहुउद्देश्यीय सहकारी संस्थाकी सचिव सुमित्रा घोरासैनी लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै यस क्षेत्रका सहकारीहरुले नागरिकको हितमा कार्य गरि हालसम्म विश्वास जित्न सफल रहेकोमा सन्तुष्टि जनाउनुभयो । कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले स्थानीय स्तरका सहकारीले नागरीकमा बचत गर्ने परिपाटीको विकास गर्नुको साथै नगरको आर्थिक स्थिति चलायमान गराउनमा समेत सहयोग पुर्याएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा संस्थाका अध्यक्ष गिरिधर सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरि सचिवको प्रतिवेदन सचिव देवकुमारी पौडेल र लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक सुनिता जिसिले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो। सम्मानित हुनेहरूमा तीन जना उत्कृष्ट ऋणी, तीन जना उत्कृष्ट मासिक बचतकर्ता, एकजना उत्कृष्ट बाल बचतकर्ता, दुईजना उत्कृष्ट आवधिक बचतकर्ता, एकजना उत्कृष्ट ऐच्छिक बचतकर्ता र दुई जना उत्कृष्ट सेयर खरिदकर्ता रहनुभएको छ। यसैगरी संस्थाले आठ जना ज्येष्ठ नागरिकहरुलाई समेत सम्मान गरेको छ।
संस्थाका उपाध्यक्ष मिनाकुमारी रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण संस्थाका शेयर सदस्य सत्यराज अधिकारीले गर्नुभएको थियो ।