देवचुली
महाभारत पर्वत शृङ्खलाको सबैभन्दा अग्लो चुचुरो देवचुली डाँडाको प्रवेश स्थल र नवलपुरमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने शाश्वत धाम ( सिजी मन्दिर )बाट केही मिनेटको दूरीमा पुग्न सकिने दलदले बजारमा रहेको सुविधा सम्पन्न होटल एमआइडीले आफ्नो औपचारिक सेवाको शुभारम्भ गरेको छ ।
मङ्गलबार देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले होटल एमआइडीको रिबन काटेर उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले विदेशमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गरिरहेका होटल सञ्चालकलाई धन्यवाद ज्ञापन गर्दै होटल व्यवसायीहरूको दिगो विकासका लागि देवचुली नगरपालिका सधैं सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले होटल एमआइडीको आतिथ्यता र परिकारका बारेमा आँफूले पहिले पनि सुनेका भएपनि होटलको औपचारिक उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, नगर प्रवक्ता तिलप्रसाद काफ्ले, देवचुली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष बलिराम सापकोटा, वडा नम्बर १० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, वडा नम्बर १२ का वडा अध्यक्ष लोकप्रसाद भुर्तेल र वडा नम्बर १३ का वडा अध्यक्ष एकदेव पौडेल लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
होटल सञ्चालक मिन गौतमले करिब १८ वर्ष (६ बर्ष जापान, ६ बर्ष दुवइ, ३ बर्ष कतार र ३ बर्ष भारत) विदेशमा रही होटल क्षेत्रमा आर्जन गरेको सीपलाई होटल एमआइडी मार्फत नेपाली सेवाग्राहीहरूलाई सेवा गर्ने उद्देश्य राखी गत भाद्रबाट दलदले बजारमा होटल एमआइडीको सुरुवात गर्नुभएको हो। दलदले बजारमा रहे पनि होटल एमआइडी शान्त वातावरणमा रहेको छ। स्वच्छता नै होटल एमआइडीको प्रमुख विशेषता रहेको छ। करिब ३ करोड लगानीमा सुरु गरिएको होटल एमआइडीमा आठवटा लग्जरियस कोठाहरू, एक सभाहल, एक बार र रुफ टप सहित चारतले सुविधा सम्पन्न भवन रहेको छ।
होटल एमआइडीमा विवाह, व्रतबन्ध, पाश्नी , सभा, सेमिनार तथा अन्य कार्यक्रमका लागि उपयुक्त हलको समेत व्यवस्था रहेको छ। होटलमा आँखा र मन दुवैलाई आकर्षित गर्ने निकै सुन्दर पेन्टिङहरू पनि कोरिएको छ। होटल प्रवेश गर्ने बित्तिकै डल्फिन सहितको पानीको छहराले होटलको थप आकर्षण बढेको छ ।
विसं २०७२ सालमा नेपालमै व्यवसाय गर्ने मनसाय बोकेर नेपाल फर्किनुभएका मिन गौतमले करिब आठ वर्षको मेहनतले होटलको पूर्वाधार तयार पार्नुभएको हो। दलदले बजारबाट करिब ५०० मिटर उत्तरतर्फ रहेको होटल एमआइडी शाश्वातधाम र जिल्ला सदरमुकाम कावासोतीबाट पनि पायक पर्ने ठाउँमा रहेको छ।
मंगलवार होटलको समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै होटलका सहसञ्चालक देवी गौतमले होटल एमआइडीले सेवाग्राहीको भावनालाई मध्यनजर राखी सेवा पस्कने विश्वास व्यक्त गर्नुभयो। होटल सञ्चालकद्वय मिन र देवी गौतमकी सुपुत्री आकृति गौतमको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण ढुण्डीराज केसीले गर्नुभएको थियो।