देवचुली,
देवचुली नगरपालिकामा क्रिकेट खेलको विकास र समग्र खेलकुद क्षेत्रको उन्नयनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। मंगलबार देवचुली नगरपालिकाको सभाहलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
सो कार्यक्रममा उपस्थित हुनुभएका लामिछानेले देवचुली नगरपालिकाका युवा खेलाडीहरु समक्ष आफ्ना खेल जीवनका अनुभव साटासाट गर्नुभएको थियो । सो अवसरमा देवचुली नगरपालिकाका युवा खेलाडीहरूले र सरोकारवालाहरूले सन्दीप लामिछाने र देवचुली नगरपालिका समक्ष केही प्रश्न, सुझाव र जिज्ञासा राखेका थिए। आएका सुझावहरुमा मूलत: देवचुली नगरपालिकालाई खेलकुदको हबका रुपमा विकास गर्न फुटबल, क्रिकेट र अन्य खेलको रङ्गशाला निर्माण, वडा र नगर तहबाट खेलकुद प्रतियोगिताहरूको आयोजना, नगरपालिकाले खेलाडीहरूको नेतृत्व विकासका लागि ल्याउनुपर्ने योजनाहरू साथै सन्दीप लामिछानेसँग खेल क्षेत्रमा सफल हुनका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने जस्ता रहेका थिए। प्रश्नहरूलाई सम्बोधन गर्ने क्रममा पूर्व कप्तान लामिछानेले निरन्तरको मेहनत, अथाह लगन र आफ्नो लक्ष्यमा निर्दिष्ट रहेमा सफल हुन सक्ने धारणा व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले देवचुली नगरपालिकाको क्रिकेट मात्र नभई सम्पूर्ण खेल क्षेत्रको विकासका लागि आँफूले कुनै पनि समयमा योगदान दिनुपर्नेमा पछि नपर्ने बताउनुभयो। नगरपालिकालाई सोधिएका प्रश्नको जवाफ दिने क्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले नगरको बजेट र आवश्यकतालाई मध्यनजर गरी नगरपालिकाले खेल क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नछोड्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने सहित भर्खरै सम्पन्न नेपाल प्रिमियर लिगका विजेता टोली जनकपुर बोल्ट्सका उदयमान खेलाडी किशोर महतो, नेपाली यु-१९ क्रिकेट टिमका सदस्य अपराजित पौडेल, रोयल क्रिकेट एकेडेमीका सञ्चालक एवं खेलाडीहरु, देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, नगरप्रवक्ता तिलप्रसाद काफ्ले लगायत विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, समाजसेवी पेउनारायण न्यौपाने तथा अन्य खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सन्दीप लामिछानेलाई देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले मायाको चिनो स्वरूप देवचुलीको स्थानीय उत्पादन मह हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण देवचुली नगरपालिकाका युवा तथा खेलकुद शाखाका सदस्य सचिव प्रकाश काफ्लेले गर्नुभएको थियो।