देवचुली
देवचुली ९ मा सम्पन्न भलिबल प्रतियोगिताको महिला तर्फको उपाधि आयोजकले र पुरुष तर्फको उपाधि कावासोती - १० रतवलले जितेको छ। पुस १५ को अवसर पारी युवा तथा खेलकुद विकास समिति देवचुली ९ ले आयोजना गरेको ३० औँ जिल्ला स्तरीय पुरुष भलिबल तथा छैटौँ महिला भलिबल प्रतियोगिता २०८१ को अन्तिम खेल आज खेलिएको हो।
आज सम्पन्न फाइनल खेलमा जित निकाले सँगै महिला तर्फ आयोजक प्रथम , पृथ्वी मावि द्वितीय र मध्यबिन्दु तृतीय भएका छन् भने पुरुष तर्फ कावासोती - १० रतवल प्रथम भए सँगै आयोजक द्वितीय र संखदेव युवा क्लब तृतीय हुन सफल भएका छन्।
देवचुली ९ मा रहेको घुमाउरी पिकनिक स्पटको खेलमैदानमा सम्पन्न प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुँदै महिला समुहले क्रमश १५ हजार, १० हजार र ५ हजार तथा पुरुष समुहले क्रमश ४५ हजार, २५ हजार र १५ हजार नगदको साथमा मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन्।
युवा तथा खेलकुद विकास समिति देवचुली ९ का अध्यक्ष कृष्ण आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। सोहि अवसरमा आफ्नो भनाई राख्नुहुँदै नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले देवचुली नगरपालिका खेलकुद माया भएकाले यस क्षेत्रमा अथाह सम्भावना बोकेका खेलाडीहरू भएकोले उनीहरूलाई यस्तो प्रतियोगिताले थप हौसला मिल्ने भएकाले खेलकुदको विकासमा नगरपालिकाले सदैव साथ र सहयोग गर्ने बताउनुभएको थियो।
कार्यक्रममा देवचुली नगरपालिकाका नगर उप प्रमुख पार्वता तिवारी , प्रशासकीय अधिकृत दिवाकर पौडेल , देवचुली ९ का वडा अध्यक्ष बलिराम सापकोटा , नगर शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख राम प्रसाद शर्मा , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन , देवचुली युवा तथा खेलकुद विकासका सम्पूर्ण पदाधिकारीहरू , देवचुली नगरपालिकाका कार्यपालिका सदस्यहरू , देवचुली ९ का वडा सदस्यहरूको साथमा विभिन्न स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
युवा तथा खेलकुद विकास समिति देवचुली ९ का सदस्य उमापति पाण्डेले सहजीकरण गर्नुभएको कार्यक्रममा आफ्नो भनाई राख्दै अध्यक्ष कृष्ण आलेले यो प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई आभार ब्यक्त गर्दै देवचुलीको हरेक वडाले यसरि नै विविध खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै स्थानिय प्रतिभावान खेलाडीहरुलाई अगाडी बढ्न मौका दिन सुझाव दिनुभएको थियो।