देवचुली
कालिका माध्यमिक विद्यालय देवचुली ९ बिशालटारको ४१ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस आज आइतबार सम्पन्न भएको छ। देवचुली नगरपालिकाको मेयर हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिसागर भुसालको अध्यक्षता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा मेयर न्यौपानेले विसं २०४१ सालमा स्थापना भएर यहाँ सम्मको यात्रा तय गर्नु र अहिलेको समयको माग अनुसारको शिक्षालाई अवलम्बन गरी शैक्षिक गतिविधि सञ्चालन गरी नगरमा आफूलाई अब्बल साबित गरेकोमा विद्यालय परिवारलाई आभार व्यक्त गर्नुभएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक डिल प्रसाद भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रममा देवचुली नगरपालिकाको शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा , देवचुली वडा न ९ का वडा अध्यक्ष बलिराम सापकोटा , विद्यालयमा रहेका व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरू , विद्यालयका भूतपूर्व प्रधानाध्यापक रेशम कोइराला सँगै भूपू शिक्षक तथा समितिका पदाधिकारीहरू , वडाका जन प्रतिनिधिहरू , स्थानीय सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधि सँगै विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको आतिथ्यता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले शैक्षिक सत्र २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हाल सम्म विद्यालयमा भएका उदाहरणीय कार्य तथा सफलताहरूका जानकारी गराउनुहुँदै आगामी शैक्षिक योजनाहरूको जानकारी गराउनुभएको थियो। विद्यार्थीको तर्फबाट मन्जिला श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यार्थीका लेख तथा रचनाहरू समेटिएको कालिका बाल प्रतिभाको पहिलो अङ्क विमोचन गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न जातजातिको नृत्य तथा सन्देशमूलक नाटक प्रस्तुत गरेका थिए।
विद्यालयका शिक्षक बालकृष्ण अधिकारीको सहजीकरण रहेको कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षकहरू मन्जु नेपाली ,बालकृष्ण अधिकारी , नर बहादुर सिंह ठकुरी तथा सीतादेवी पौडेललाई सम्मान गरिएको थियो भने विद्यालयबाट निवृत्त हुनुभएका प्रधानाध्यापक रेशम कोइरालालाई बिदाई समेत गरिएको थियो।
विद्यालय परिसरमा सम्पन्न वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसर पारी शुभकामना मन्तव्य राख्नुहुँदै वक्ताहरूले विद्यार्थीहरूलाई समय अनुरूप व्यवहारिक शिक्षाको लागी उपर्युक्त वातावरण सृजना गर्दै हाल सम्म विद्यालयले प्राप्त गरेको साख बचाइराख्न विद्यालयलाई आग्रह गर्नुभएको थियो।